काठमाडौं, १५ वैशाख । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार दीपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि नयाँ शक्ति पार्टीले आर्थिक सहयोग गरेको छ ।
नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले संकलन गरेको एक लाख नगद शुक्रबार पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकार दम्पतीलाई हस्तान्तरण गरेका हुन् ।
संयोजक भट्टराईले सहयोग रकम हस्तान्तरण गर्दै कलाकार राष्ट्रका अमूल्य सम्पत्ति भएको हुँदा कलाकारहरुको संरक्षण गर्दै स्वास्थ्योपचारमा सरकारले सहयोग गर्नुपर्ने बताए ।
आर्थिक संकटमा परेका कलाकार दीपक क्षेत्रको उपचारमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले त्यहाँस्थित नेपालीहरुबाट प्राप्त भएको सहयोग हस्तान्तरण गरेको नयाँ शक्तिका प्रवास विभाग सदस्य इन्द्रराज भट्टराईले बताए ।
केही साताअघि कलाकार क्षेत्री गम्भीर बिरामी भई उपचाररत रहेको खबर सञ्चार माध्यमहरुमा आएको थियो । कलाकार क्षेत्रको श्वर नलीमा पलाएको मासुका कारण उनको स्वर भास्सिएकोले यथाशीघ्र शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका थिए ।
तर, आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि सहयोगका लागि विभिन्न क्षेत्रमा भौंतारिएका दीपक दम्पती सबैको सहयोगबाट उपचारका लागि आर्थिक स्रोत जुटाउन सफल छ । ‘सबैको सहयोगले उपचारका लागि पैसा जुटेको छ,’ क्षेत्रीकी धर्मपत्नी विपना बस्नेतले बताइन् ।
‘मलाई जुन बेला सहयोग आवश्यक थियो, राज्यले हामी कलाकारलाई सहयोग गरेन । राज्य सीमित मान्छेको पेवा रहेछ’ कलाकार क्षेत्रीले गुनासो पोख्दै भने, ‘अहिले मलाई माया गर्ने शुभचिन्तक तथा मेरा दर्शक श्रोताहरुले आर्थिक सहयोग गर्नुभयो, उहाँहरुलाई धन्यवाद दिन्छु ।’
The post कलाकार दीपक क्षेत्रीको उपचारको लागि नयाँ शक्तिको आर्थिक सहयोग appeared first on Sajha Post.