
एजेन्सी, १९ कात्तिक । पाकिस्तानमा निकै चर्चित नाम हो, राबी पिरजादा । पिरजादाको कला मात्रै होइन, उनको साहसको पनि निकै चर्चा हुने गर्छ ।
तर बहु प्रतिभाकी धनी पिरजादाले एकाएक सांगीतिक क्षेत्रबाट सन्यास लिने घोषणा गरेकी छन् । पिरजादाले सोमबार मनोरञ्जनको क्षेत्र छोड्ने घोषणा गरेकी हुन् । उनले ट्विटरमार्फत् ‘सांगीतिक क्षेत्र’ छोड्ने बताएकी छन् ।
‘अल्लाह, मैले गरेको पापलाई माफ गर्नुहोला र मेरो तर्फबाट मानिसको मन कोमल बनाइदिनु होला’, पिरजादाले सांगीतिक क्षेत्र छोड्ने घोषणा गर्दै आफ्नो ट्विटरमा लेखेकी छन् ।
केही दिनअघि इन्टरनेटमा अश्लील तस्बिर र भिडियो सार्वजनिक भएपछि पिरजादा सांगीतिक क्षेत्रबाट अलग्गिएको समाचारमा जनाइएको छ ।
केही समयअघि पिरजादाका अश्लील तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए । पाकिस्तान टूडेका अनुसार, बिहीबार र शुक्रबार उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
इन्टरनेटमा पिरजादाका अश्लील तस्बिर र भिडियो कसले र किन सार्वजनिक गरेको भनेर प्रस्ट भइसकेको छैन । ती तस्बिर र भिडियो उनका पूर्व प्रेमीले सार्वजनिक गरेको हुन सक्ने भनेर कतिपयले आशंका समेत गरेका छन् ।

बेलाबेला विवादास्पद राजनीतिक कुरा गरेर समेत पिरजादा चर्चामा आउने गरेकी थिइन् । पाकिस्तानी राजनीतिमाथि टिप्पणी गरेकै कारण पाकिस्तानभित्रै उनका थुप्रै विरोधी छन् । उनका विरोधीले नै ती तस्बिर र भिडियो सार्वजनिक गरेको हुन सक्ने पनि बताइएको छ ।
यति मात्रै होइन, उनका विरोधी भारतमा समेत छन् । उनले भारतीय सरकार, बलिउड सिनेमा र कलाकारको समेत चर्को विरोध गर्दै आएकी छन् । यही भएर कतिपयले भारतीय जासुसले नै उनका भिडियो ह्याक गरेर इन्टरनेटमा हालेको तर्क समेत गरेका छन् ।
आफ्ना तस्बिर र भिडियो सार्वजनिक भएपछि पिरजादाले पाकिस्तानको संघीय अनुसन्धान आयोगमा उजुरी समेत दिएकी छन् । उनले आफ्नो उजुरीमा गोपनीयता हनन भएको भनेर उल्लेख गरेकी छन् । आयोगलाई आफ्नो मोबाइल समेत सुम्पिएकी छन् ।
कसैले मोबाइल ह्याक गरेर आफ्ना तस्बिर सार्वजनिक गरेको हुन सक्ने पिरजादाको दाबी छ ।
को हुन पिरजादा ?

पिरजादाको जन्म पाकिस्तानको क्वेटा शहरमा सन् १९८९ मा भएको थियो । उनी सन् २००४ मा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको पहिलो गीत दाहदी कुरी निकै हिट भएको थियो । उनका अन्य चर्चिच गीतमा मुझे इस्क है, जादू, किसी के हो के रहो जस्ता गीत पर्छन् ।
तीस वर्षीया पिरजादाले युएन्युजबक्स जस्ता केही वेभसाइटमा समेत आफ्ना लेख प्रकाशित गरेकी छन् । उनले विभिन्न पाकिस्तानी टेलिभिजन कार्यक्रममा गेस्ट आर्टिस्टको रुपमा समेत सहभागिता जनाइसकेकी छन् । त्यस्तै उनले नाटकमा समेत अभिनय गरेकी छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन् ।
पिरजादाले सन् २०१८ मा शोर शराबा नामक चलचित्रमा समेत पहिलो पटक अभिनय गरेकी थिइन् । पिरजादाले हलिउडमा समेत खेल्न लागेको चर्चा चलेको छ ।
गत अगस्टमा भारतीय सरकारले कश्मीरको विशेषाधीकार खारेज गरेपछि पिरजादाले मोदी सरकारको चर्को आलोचना गर्दै आएकी थिइन् । उनले नयाँ दिल्ली र मोदीको चर्को विरोध गर्दै सामाजिक सञ्जालमा विवादास्पद पोष्ट समेत गरेकी थिइन् ।
गत महिना पिरजादाले आत्मघाती भेस्ट लगाएको एउटा तस्बिर समेत शेयर गरिन् । उनले उक्त तस्बिरमा ‘मोदीहिटलर’ नामक ह्याशट्याग समेत राखेकी थिइन् । उनले उक्त तस्बिरसँगै ‘#ModiHitler i just wish huh #kashmirkibeti’ लेखेकी थिइन् ।

विवादास्पद तस्बिर शेयर गरेपछि पाकिस्तानभित्रै उनको आलोचना भएको थियो । उनलाई जम्मू-कश्मीरमा भारत सरकारले चालेको कदमको विरोध गर्दै उक्त तस्बिर शेयर गरेको भन्दै आफ्नो बचाउ गर्नुपरेको थियो ।
त्यस्तै उनले सेप्टेम्बरमा मोदीलाई लक्षित गरी एउटा भिडियो पोष्ट गरेकी थिइन् । उक्त भिडियोमा एउटा गोही र केही अजिङ्गरसहित पिरजादा देखिएकी थिइन् । उनले ‘भिडियोमा रहेका गोही र सर्पले मोदीलाई खाने छन्’ भनेर उल्लेख गरेकी थिइन् ।
सन् २०१७ मा बलिउड चलचित्रको आलोचना गरेपछि पिरजादा थप चर्चामा आइन् । त्यतिबेला उनले बलिउड चलचित्र र केही कलाकारको कडा आलोचना गरेकी थिइन् । विशेषगरी बलिउड स्टार सलमान खान उनको निशाना बनेका थिए । भारतीय चलचित्रले युवायुवतीसामु अपराध प्रबर्द्धन गरेको उनको आरोप थियो ।
तर आफ्ना अश्लील तस्बिर र भिडियो इन्टरनेटमा भाइरल भएपछि सोमबार पिरजादाले सांगीतिक क्षेत्रबाट टाढिएको घोषणा गरेकी छन् । उनको यो घोषणाले पाकिस्तानका मात्रै होइनन्, विश्वका संगीतप्रेमी समेत दुःखित बनेका छन् ।
The post राबी पिरजादाः ‘आत्मघाती भेस्ट’ लगाएर मोदीलाई धम्की दिने साहसी पप स्टार appeared first on Sajha Post.