साझा पोष्ट/काठमाडौं, २० जेठ । यस वर्षको मिस नेपालको ताज उर्लाबारी मोरङकी निकिता चन्दकले पहिरिन सफल भइन् । तर, सेकेन्ड रनरअप भएकी नीति शाहका फ्यान भने यो प्रतियोगितासँग रूष्ट छन् ।
धेरैले नीति शाहले यस पटकको मिस नेपालको ताज पहिरिने अनुमान गरेका थिए । सामाजिक सञ्जालदेखि आमसाधारणले यस वर्ष नीतिलाई मिस नेपालमा हेर्न चाहेका थिए । कतिपयले त नीतिको विकल्प नै यस पटक नभएको पनि दाबी गरेका थिए ।
मोडलिङ, पत्रकारिता र भिडियो जक्कीजस्ता काममा अव्वल भइसकेकी नीति फस्ट रनरअप समेत नहुँदा आयोजक र उसले राखेका निर्णायको पनि आलोचना बढिरहेको छ । त्यसो त मिस नेपाल आयोजक संस्था हिडेन एन्ड ट्रिजर पहुँच र पैसाँग बढि प्रभावित भएको अभियोग लाग्दै आएका कारण मिस नेपाल विवादीत पनि हुँदै आएको छ ।
मिस नेपाल विवेक र सुन्दरताको समायोजन भएका कारणले दुवैमा नीति शाह अव्वल रहेको धेरैले जनाएका छन् । ‘मिस नेपाल नामको नाटक सकियो’, नेपाल पत्रकार महासंघका सचिव तथा चलचित्र पत्रकार ध्रुव लम्सालले लेखेका छन् ।
सामाजिक सञ्जालमा पर्याप्त सदस्य रहेका विभिन्न पेजहरूमा पनि नीतिलाई मिस नेपाल घोषणा नगरी निर्णायकले पक्षपात गरेको जनाइएको छ । मेन्स रुम रिलोडेड, दाह्री ग्याङ, ब्राम्हण समूहलगायतमा युवा र किशोर पुस्ताका बहुसंख्यक नीतिका समर्थकहरूले मिस नेपालमा भएको निर्णयको आलोचना गरेका हुन् । कतिपयले मिस नेपाल निकीता चन्दकको आलोचनामा उनको सामाजिक सञ्जालमा राखिएका तस्बिरलाई समेत बाहिर ल्याउन थालेका छन् । कतिपयले निकिताले प्रविधियुक्त भारतको अभियानमा चलाइएको भारतीय राष्ट्रिय झन्डाको रङभरिएको प्रोफाइल तस्बिरलाई सार्वजनिक गर्दै मिस नेपाल विजेता भएकोप्रति विरोध जनाएका थिए ।
‘हामीलाई आशा थियो नीतिले मिस नेपालको ताज जित्नेछिन् तर निर्णायक खराब परेका कारणले उनले जित्न सकिनन्’, सामाजिक सञ्जालमा टिप्पणी छ,‘निकिता मिस नेपाल भएपनि उनले यो ताजको लाज राख्न सक्लिन् र ?’
होटल अन्नपूर्णमा भएको यो बर्षको ‘मिस नेपाल’मा १८ जना प्रतिस्पर्धी थिए । सवैलाई पाखा लगाउँदै उपाधी हात पार्न निकिता सफल भइन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।
भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन गरेका कारण चन्दकको आलोचना समेत बढेको हो । बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधीमै नीतिले चित्त बुझाउन परेको छ । तर, नीतिले भनिन्,‘अब म मिस नेपाल इन्टरनेशनलको जिम्मेबारी र उपाधीको आधारमा चिनिएकी छु, यसलाई म जीवित राख्नेछु ।’
सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपाल प्रमूख निर्णायक थिए । ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छ?’ भन्ने प्रश्नको एउटा आधारको उत्तरका कारण निकिताले मिस नेपालको उपाधी हात पारेको भन्दै धेरै क्रुद्ध छन् ।
The post यसरी रूष्ट भए नीतिका फ्यान appeared first on Sajha Post.