एजेन्सी, २३ चैत । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्याले यसअघिको रेकर्ड तोडेको छ । आइतबार भारतमा १ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । जुन दर हालसम्मकै उच्च हो ।
कोरोनाबाट उत्पन्न संकटबाट बलिउड समेत प्रभावित भएको छ । एकपछि अर्को गर्दै बलिउड कलाकारहरु भाइरसबाट संक्रमित भइरहेका छन् ।
पछिल्लो समय अभिनेत्री भूमि पेडनेकर र अभिनेता विक्की कौशललाई समेत कोरोना संक्रमण भएको छ । पेडनेकर र कौशलले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
‘आज मलाई कोरोनाका हल्का लक्षण देखिएका छन्, मैले ठीक महसुस गरेकी छु र आफैंलाई आइशोलेसनमा राखेकी छु’, पेडनेकरले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘डाक्टर र स्वास्थ्यकर्मीको सम्पर्कमा छु, सबै सावधानी अपनाएकी छु, मेरो सम्पर्कमा आउनु भएका सबैलाई परीक्षण गर्न मेरो आग्रह छ, मैले बाफ लिइरहेकी छु र भिटामिन सि एवं खानपिनमा ख्याल गरेकी छु ।’
त्यस्तै कौशलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै लेखेका छन्, ‘सबै खाले सावधानी अपनाउँदा पनि मलाई कोरोना पोजिटिभ देखिएको छ । आगामी दिनमा समेत सावधानी अपनाउने छु । हालका लागि घरमा नै क्वारेन्टाइनमा बसेको छु । डाक्टरले दिएको औषधि खाइरहेको छु । मेरो सम्पर्कमा आउनु भएका सबैलाई परीक्षण गर्न मेरो आग्रह छ । सुरक्षित रहनुहोस् र घरभित्रै बस्नुहोस् ।’
बलिउड कलाकार अक्षय कुमार, आमिर खान, आलिया भट्ट, विक्रान्त मैसे, मोनालिसा, बप्पी लहरी, तारा सुतारिया, मनोज बाजपेयीसँगै पूर्व क्रिकेटर सचिन तेन्दुलकर कोरोनाबाट संक्रमित भइसकेका छन् ।
यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
The post बलिउडमा कोरोना संकट: अक्षयपछि कौलश र पेडनेकर पनि भाइरसबाट संक्रमित appeared first on Sajha Post.