Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लकडाउनमा भरियाको कथा: ‘नाम्लो’ (भिडियो)

$
0
0

पोखरा, १६ जेठ । विश्वव्यापी कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई चित्रण गर्दै नेत्र इन्टरटेनमेन्ट प्रालिले फरक फरक कथामा छोटो फिल्महरु निर्माण गरिरहेको छ ।

कम्पनीले आफ्नो पछिल्लो फिल्म ‘नाम्लो’ युट्युबमार्फत सार्वजनिक गरेको छ ।

यो फिल्ममा निर्देशक नेत्र गुरुङ र पाका कलाकार प्रकाश घिमिरेबीच ‘टिमअप’ भएको छ । पोखराका पछिल्ला छिमलका कलाकारहरुलाई लिएर उनले यसअगाडिका छोटा फिल्महरु निर्माण र निर्देशन गर्दै आएका थिए । लकडाउनपछि कम्पनीले निर्माण गरेको यो पाँचौ फिल्म हो ।

‘हामीले लकडाउनले नेपाली समाजमा पारेको प्रभावलाई फिल्ममार्फत भन्न खोजेका हौँ । र, यसले समाजमा पारेको विभिन्न पाटोलाई हामीले समेट्ने प्रयास गरेका हौँ । नाम्लो यसको पछिल्लो उदाहरण हो,’ निर्देशक नेत्र गुरुङले भने, ‘अग्रज कलाकार प्रकाश घिमिरेसँगको सहकार्यमा हामीले एउटा भुँईमान्छेको कथालाई यो फिल्ममा पेश गरेका छौँ ।’

निर्देशक गुरुङले ‘नाम्लो’को कथावाचन शैलीमा पनि आफूले केही फरक गर्न खोजेको बताए । ‘यस्तो खाले वाचन शैली दर्शकलाई केही नयाँ लाग्न सक्छ । तर हामीले पात्रमार्फत एउटा भरियाको कथा देखाउन खोजेका हौँ,’ उनले भने ।

केही दिनअगाडि मात्रै काठमाडौंमा एकजना भरिया नाम्लोलाई साथमा लिएर बाटैमा मृत्यु भएको समाचार पनि आएको थियो । यद्यपी यो फिल्म सो घटनाभन्दा अगाडि नै खिचिएको उनले बताए । ‘साँच्चै एउटा भरिया बाटोमा भोककै कारणले मरेको सुन्दा झन् बढी दुःख लाग्यो,’ उनले भने ।

फिल्ममा अभिनय गरेका प्रकाश घिमिरे पनि यो फिल्मको ‘दानबहादुर’ चरित्र आफ्नो लागि विशेष रहेको सुनाउँछन् । ‘मैले यस्तै मजबुर चरित्र देख्दै आएको छु । साँच्चिकै यो चरित्र बाँचिरहँदा मलाई पनि ननिको लाग्यो,’ उनले भने ।

फिल्ममा अर्का कलाकार विजय अधिकारीको पनि भूमिका छ । उनी यो फिल्ममा पत्रकारको भुमिकामा देखिएका छन् । प्रकाश गुरुङ ‘काश’ले खिचेको फिल्मलाई नेत्र गुरुङ आफैले लेखेका हुन् । फिल्ममा भरत छन्तयालको सह–निर्देशन छ । फिल्मको कलरिस्ट किरणराज थापा हुन् भने सबिन गायक पब्लिसिटी डिजाइनर हुन् ।

नेत्र इन्टरटेनमेन्टले यसअगाडि ‘लकडाउन’, ‘राहत’, ‘बसाँई’ र ‘घर’ नामक छोटा फिल्महरु निर्माण गरि सार्वजनिक गरिसकेको छ ।

हेर्नुहोस् फिल्म-

The post लकडाउनमा भरियाको कथा: ‘नाम्लो’ (भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles