फिल्म, २७ चैत । नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ टिमले धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग गरेको छ । फाउण्डेसनद्वारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि चलचित्र टिमले ५० हजार नगद सहयोग गरेको हो ।
फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै फाउण्डेसनका सिताराम कट्टेल धुर्मुसलाई संयुक्तरुपमा सहयोग हस्तान्तरण गरेको फाउण्डेसनले जनाएको छ ।
सहयोग ग्रहण गर्दै धुर्मुस अर्थात् सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिँदै सहयोगप्रति आभार व्यक्त गरे । ‘थोपा-थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौं, त्यसैले यो सहयोग हाम्रो लागि अमूल्य छ,’ उनले भनेका छन्, ‘हामीमा सहयोगी भाव चाहिन्छ, अनि लक्ष्य प्राप्तिको उद्देश्य, सफलता हात पर्छ ।’
चलचित्र यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास धुर्मुसले व्यक्त गरे । चलचित्रका प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले धुर्मुस-सुन्तलीको अभियानमा साथ दिन पाउँदा निकै खुसी लागेको बताए । उनले भने, ‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौं तर यो अरुका लागि प्रेरणा बन्न सक्छ ।’
श्रेष्ठले फिल्मले नेपाली प्रतिभा र नेपालको सुन्दरतालाई देखाउने भन्दै दर्शकहरुलाई चलचित्र हेर्नको लागि आह्वान गरे ।
यसैबीच, यात्रा टिम नायक सलिनमान बनियाँसँगै शनिबार फाउण्डेसनले आयोजना गरेको मातृभूमि कप खेल्न जाने भएका छन् । नायक बनिया केहीदिनदेखि प्रशिक्षणमा समेत सहभागी भइरहेका छन् ।
The post चलचित्र ‘यात्रा’बाट धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग, सलिनले क्रिकेट खेल्ने appeared first on Sajha Post.