कोरिया, ११ भदौ । ‘प्रवासमा नेपाली एकता, आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारा बोकेर धादिङ र काभ्रे जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ । कोरियामा पहिलोपटक संयुक्त रूपमा काभ्रे सम्पर्क समिती र धादिङ समाजको आयोजनामा यस कार्यक्रम आयोजना हुन लागेको हो। दुवै संस्थाले संयुक्त एक पत्रकार सम्मलेन गरी यही सेप्टेम्बर २४ तारिखमा कन्सर्ट हुन लागेको हुँदा कार्यक्रम भब्यरुपमा सफल बनाउनको निम्ति कोरियास्थित नेपाली समुदायमा अपिल गरिएको छ।
सुविधा सम्पन्न अन्तर्राष्ट्रिय हल एस लाइभ कन्सर्ट हलमा करिब ३ हजार दर्शक उतार्ने आयोजक संस्थाको तयारी गरीरहेको छ । कन्सर्टमा सदाबहार चर्चित पप गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाई आमन्त्रण गरिएको छ। विश्व साँगितिक यात्रामा रहेका ब्यान्डको युरोप, अमेरिका, युके, अस्ट्रेलिया, हङकङ, मकाउ, जापान, दुबई , कोरिया लगाएत अन्य देशहरुको विभिन्न शहरहरुमा कार्यक्रम आयोजना हुँदैछ। चर्चित ब्यान्ड सँगै अहिलेको जल्दाबल्दा चर्चित विभिन्न बिधाका कलाकारहरू राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी, रक्षा श्रेष्ठ, बबिता बानियाँ जेरी, पुर्णिमा लामा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
आयोजकले लाईभ कन्सर्टको लागि भब्य तयारी गरीरहेको बताउँदै सो हलमा फुल एअर कन्डिसन, लाईटिंग र अत्याधुनिक साउण्ड सिस्टम र सुरक्षा व्यवस्था रहेको जनाएको छ । कोरियन तथा विश्व बिख्यात कलाकारहरुले प्रस्तुती दिएको हलमा नेपाली दर्शकहरुले रिदम लाईभ कन्सर्ट हेर्न पाउने भएका हुन् । कार्यक्रमको शोभा बढाउन सो कार्यक्रममा नेपालबाट अहिलेको लोकप्रिय ब्यक्तित्वहरुलार्इ पनि बिशेष अतिथिकोरूपमा आमन्त्रण गर्न लागिएको जानकारी प्राप्त भएको छ। फुल प्याकेजको साँगितिक मनोरञ्जनसहित पवित्र सामाजिक कार्य गर्ने अवसर रहेको, कामले थकित शरीर र मस्तिष्कलाई पनि स्फुर्ति बढाउन भरपुर मद्धत गर्ने, कार्यक्रम भब्य बनाउन कुनै कसुर बाँकी नराख्ने र कार्यक्रम तयारीमा जुझारु सामाजिक अभियन्ताहरु तिब्र रुपमा लागिपरेको कार्यक्रम संयोजक द्वय धादिङ समाजका अध्यक्ष सन्तोष अधिकारी तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमल्सिनाले बताएका छन् ।
The post दिपक बज्राचार्य तथा रिदम ब्याण्डले छुसकमा कोरिया तताउने, लाइभ कन्सर्ट हुँदै appeared first on Sajha Post.