दमक, ९ साउन । बाल गायक अशोक दर्जीलाई गायक तथा संगीतकार टंक बुढाथोकीले बेपत्ता बनाएको भन्ने प्रहरीमा लिखित निवेदन परेपछि विवादमा रहेका अशोक दर्जी अब आफ्ना बाबुसँगै बस्ने भएका छन् ।
झापाको दमक–२ निवासी अशोकलाई बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलमार्फत बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेपछि विवादलाई टुंग्याएको हो ।
यसअघि अशोक दीपक न्यौपाने प्रिन्सिपल रहेको मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययन गर्दै सोही स्कुलकै होस्टेलमा बस्दै आएका थिए । अशोकसँगै उनका दिदीबहिनीहरु सीता र मुस्कान दर्जीलाई पनि न्यौपानेले निःशूल्क पढाउँदै आएका थिए । बुधबारको सहमतिअनुसार अब तीनै जना बालबालिकाको पढाईलगायत व्यवस्थापन उनीहरुका बुबा पूर्ण दर्जीले नै गर्ने उल्लेख छ ।
सहमतिअनुसार संगीतकार टंक बुढाथोकी र बेथल स्कुलका प्रिन्सिपल दीपक न्यौपानेबीच भएको असहमति र विवादलाई दुवै पक्षको समझदारीबाट समाधान गरिएको तथा अशोकको घर निर्माण आर्थिक समितिमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई मनोनयन गर्ने सहमति भएको छ ।
यसअघि मंगलबार प्रिन्सिपल न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक अशोकलाई बेपत्ता बनाएको भन्दै लिखित निवेदन दिएका थिए । त्यसलगत्तै बुढाथोकी असोकलाई लिएर झापा पुगेका हुन् । उनले आफूले असोकलाई वेपत्ता नबनाएको जनाएका छन् ।
The post अशोक दर्जी अब आफ्नै बाबुसँग बस्ने appeared first on Sajha Post.