करिश्मा मानन्धरलाई नेपाली फिल्मी क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिन्ने गरिन्छ । हाल चलचित्रबाट केही टाढा रहेपनि करिश्मालाई दर्शकहरुले अझै बिर्सिएका छैनन् । हाल उनी नयाँ शक्ति नेपालमा आवद्ध भएर राजनीतिमा सक्रिय छिन् । राजनीतिमा हुँदा-हुँदै पनि उनलाई नेता होइन, कलाकारकै रुपमा दर्शकले बढी चिन्छन् । यिनै चर्चित नायिकासँग हामीले केही अन्तरंग प्रश्नहरु सोधेका छौँ ।
तपाईंको विचारमा पूर्ण खुशी भनेको के हो ?
मान्छे बेखुशी हुने धेरै कारणहरु हुन्छन् । लोभ-लालच, इर्श्या, मोहजस्ता चिजहरु मनमा ल्याइएन भने मान्छे खुशी हुन्छ ।
तपाईंलाई के कुरासँग बढी डर लाग्छ ?
म परिवारसँग एकदमै रमाउँछु । मेरो परिवारका सदस्यहरु जस्तै छोरी, आमाको स्वास्थ्य राम्रो होस् भन्ने सोच्छु । उनीहरुको स्वास्थ्य बिग्रन्छ कि भन्ने कुरामा एकमद डर लाग्छ ।
कुन ऐतिहासिक व्यक्तिजस्तो हुन पाए जस्तो लाग्छ ?
म धेरै मानिसहरुसँग प्रभावित भएको छु । मलाई मानिसहरुको एउटा एउटा पक्ष मन पर्छ । लेडी डायना मलाई मन पर्छ । अनि भारतीय अभिनेत्रीमा रेखा मनपर्छ ।
आफूसँग भएको कुन दोषलाई बढी घृणा गर्नुहुन्छ ?
म कुरा नबुझिकन रिसाउँछु । त्यही बानी मसँग नभइदिएको भए हुन्थ्यो ।
अरुसँग भएको कुन दोषलाई बढी घृणा गर्नुहुन्छ ?
मान्छेको दोहोरो रुप हुन्छ । कुनै-कुनै मानिसको धेरै नै चरित्र हुन्छ । त्यो चाहिँ मन पर्दैन ।
फजुल खर्च केमा गर्नुहुन्छ ?
म धेरै सपिङ गर्छु, त्यसमै मेरो बढी खर्च हुन्छ ।
तपार्इंलाई मन परेको भ्रमण ?
विशेष गरेर मलाई पोखरा मन पर्छ ।
कुन बेला झुटो बोल्नुहुन्छ ?
खासै म धेरै झुट बोल्दिन । त्यो मेरो समस्या हो ।
तपाईंको अनुहारमा भएको तर, मन नपर्ने कुरा ?
खासै केही छैन । सबै मलाई मन पर्छ ।
सबभन्दा घृणा लाग्ने जीवित व्यक्ति ?
म कसैलाई घृणा गर्दिन ।
तपाईंले सबभन्दा बढी प्रयोग गर्ने शब्द वा वाक्य ?
मैले बोलिरहँदा सबैभन्दा बढी प्रयोग हुने शब्द तेइ तेइ (त्यही) हो । अनि म ‘हो’ लाई ‘है’ भन्छु धेरैजसो । यो अड शब्द हो, तर म जति गरे पनि चेन्ज नै गर्न सक्दिन ।
तपाईंले सबभन्दा माया गर्ने मान्छे ?
सबैभन्दा बढी माया गर्ने मान्छे भन्नुपर्दा छोरी कविता हो ।
तपाईं कहिले र कहाँ सबैभन्दा बढी खुशी हुनुभयो ?
जिन्दगीमा सबैभन्दा खुशी भएको कविता (छोरी) पाउँदा नै हो ।
यदि आफूसँग भएको एउटा पक्ष परिवर्तन गर्न पाउने भए के गर्नुहुन्थ्यो ?
मेरो परिवर्तन गर्न पर्ने कुरै छैन । मसँग जे छ त्यसमा एकदमै खुशी छु ।
केमा पछुतो मान्नुहुन्छ ?
म जे गर्छु मनैदेखि गर्छु, त्यसैले केही कुरामा पनि पछुतो छैन ।
अहिलेसम्म तपार्इंको सबैभन्दा महत्वपूर्ण उपलब्धि ?
नेपाली जनताको मन जितेँ । अहिलेसम्म उहाँहरुको मनमा छु, चाहे चलचित्र गरुँ या नगरुँ । एउटा कलाकारको रुपमा उहाँहरुले स्वीकार गर्नुभएको छ । अहिलेसम्म पनि हाम्रो करिष्मा भनेर उहाँहरुले स्वीकार गर्नुभएको छ । त्यो मलाई ठूलो उपलब्धि लाग्छ ।
पुनर्जन्म पाउनु भयो भने ?
म त केटी मान्छे नै भएर जन्मन चाहन्छु । केटी सुन्दरताको प्रतिरुप हो जस्तो लाग्छ ।
तपार्इंको सबैभन्दा पीडादायक क्षण ?
त्यस्तो थुप्रै छ, तर म कुनै पनि दु:ख तथा सुखमा धेरै प्रतिक्रिया गर्दिनँ । एकदम सामान्यरुपमा लिने प्रयास गर्छु ।
तपाईसँग भएको सबभन्दा मूल्यवान चिज ?
अहिलेसम्म स्वस्थ छु, कुनै पनि रोग लागेको छैन । त्यही नै जस्तो लाग्छ ।
कहाँ बस्न बढी मन पराउनुहुन्छ ?
मलाई घर मन पर्छ । घरभित्र पुगेपछि मात्र बल्ल आनन्द हुन्छ ।
साथीमा हुनुपर्ने सबभन्दा महत्वपूर्ण गुण के हो भन्ने लाग्छ ?
मेरो थुप्रै साथीहरु छन् तर मलाई कस्तो लाग्छ भने यदि मेरो मनको भावना बुझेन भने त्यो साथी के काम जस्तो लाग्छ । साथी भएपछि मनको भावना बुझ्ने हुनुपर्छ ।
कुनै उपन्यासको मनपर्ने नायक-नायिकाको नाम ?
अहँ छैन । मैले डायमण्ड शमशेर बसन्ती पढेको थिएँ । बसन्ती कस्तो होला ? यो त धेरै शोषित रैछ । उसको गगनसिंह ब्याइफ्रेण्ड त थ्यो तर जंगलमा राखेको थ्यो नि त ! त्यसैले वसन्ती मलाई पीडित चरित्र लाग्यो । आफैँले त्यसमा अभिनय गर्नुपर्यो ।
तपाईंलाई मन पर्ने वर्तमान समयका प्रख्यात व्यक्तित्व ?
मलाई बाराक ओबामा मनपर्छ । अनि नेपालमा चाहीँ मेरो नेता भनेर होइन, मलाई डा. बाबुराम भट्टराई मनपर्छ ।
मृत्यु कस्तो होस् जस्तो लाग्छ ?
मृत्यु अचानक होस् जस्तो लाग्छ ।
मनपर्ने भनाइ ?
त्यस्ता थुप्रै छन्, अहिले तुरुन्त याद आएन ।
The post अन्तरंग कुराकानी: पुनर्जन्म भए फेरि पनि केटी नै हुन मन छ- करिश्मा appeared first on Sajha Post.