काठमाडौं, ९ जेठ । पछिल्लो समय कुनै गीत, चलचित्रको ट्रेलर या भिडियो सामग्रीको लोकप्रियताको मापन युट्युबबाट हुने गरेको छ । युट्युबमा कति पटक हेरियो भन्नेले निकै चासो राख्छ । यद्यपी ट्रेन्डिङ भने यसमै आधारित रहन्छ । लोकप्रियताको मापन भ्युज मात्रै आधिकारिक नभए पनि प्रचलनमा यही नै छ ।
अहिलेको युट्युब ट्रेन्डिङलाई हेर्दा नेपाली गीत हाबी भएका छन् । शीर्ष पाँचमा तीन वटा नेपाली गीत रहेका छन् भने हिन्दी फिल्म एउटा समावेश छ । हाँस्य टेलिशृङ्खला ‘भद्रगोल’ पनि यसमै अटाएको छ ।
लोक दोहोरी गीत भनेपछि नाक खुम्च्याउने युवा पुस्ताका लागि गतिलो झापड हुन् प्रकाश सपुत । धेरै दोहोरी गीतमा काम गरेपनि युवापुस्तामाझ ‘दोहोरी ब्याटल’बाट उनी चिनिएका हुन् । उनले हालै सार्वजनिक गरेको ‘बोल माया…’बोलको गीतले नेपाली सांगीतिक क्षेत्रमा तहल्कै ल्यायो । वैदेशिक रोजगारीको विषय उठान गरेको यस गीत यतिबेला युट्युब ट्रेन्डिङमा शीर्ष स्थानमा रहन सफल भएको छ । यसको अर्थ हो उक्त गीत थोरै समयमा बढी पटक हेरियो । प्रकाश सपुतको लय, शब्द र निर्देशन रहेको यस गीतलाई नारायण रायमाझी र शान्ति श्री परियारले स्वर दिएका छन् ।
हामीले समाचार तयार पार्दासम्म यस गीतले ९ लाख ६८ हजार २४६ भ्युज पाएको छ । त्यस्तै गीतलाई २८ हजारभन्दा बढीले लाइक गरेका छन् भने एक हजारले डिसलाइक गरेका छन् ।
युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा ‘सबसे बढकर हम ३’ दक्षिण भारतीय फिल्म रहेको छ ।
त्यस्तै तेस्रोमा दीपक बज्रचार्यको ‘मन मागन’ गीत रहेको छ । यसमा दीलिप रायमाझीको फिचरिङ छ ।
चौथो नम्बरमा ‘भद्रगोल’ को १७१ औं भाग परेको छ ।
पाँचौ नम्बरमा अशोक दर्जी र टंक बुढाथोकीको गीत ‘धन बिनाको मन ठूलो कि मन बिनाको धन’ रहेको छ ।
The post युट्युब ट्रेन्डिङमा गीत हाबी : प्रकाश सपुतको ‘बोल माया’देखि अशोक दर्जीको गीतसम्म (भिडियोसहित) appeared first on Sajha Post.