Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कभर गायनबाट उदाएकी दिपा

$
0
0

युजु खालिङ/काठमाडौं, १६ मंसिर । थोरै समय पाउँदा पनि खाली बस्दिनन् दिपा तामाङ । उनी आलाप तानेर गुनगुनाउन थालिहाल्छिन् । जब उनी गाउन थाल्छिन्, उनको वरिपरि तँछाडमछाडगरी झुम्मिन्छन् उनका सहपाठीहरु । यस्तो लाग्छ, कृष्ण बाँसुरी बजाइरहेका छन् र वरिपरि मन्त्रमुग्ध भइरहेका छन् गोपिनीहरु ।

उनको आवाज पनि छ त्यत्तिकै मधुर र मिठो । तर, यो मिठास पछाडिका साधनाहरु कम जटिल र चुनौतीपूर्ण छैनन् ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसको स्नातक दोस्रो वर्षमा संगीतकी विद्यार्थी हुन् इलाम कोलबुङकी दिपा तामाङ । नेपाली संगीतप्रेमी बहुसंख्यक युगल स्रोताहरुले उनलाई चिन्छन् । यिनी तिनै दिपा तामाङ हुन् जसले असंख्य कभर गीतहरु गाएर लाखौं संगीतप्रेमी नेपालीहरुको मनमा आफ्नो लागि भिन्न स्थान बनाउन सफल भएकी छिन् ।

२०७१ सालबाट मात्र संगितको संघर्ष मैदानमा पाइला राखेकी दिपाले यति छोटो समयमै लोभलाग्दा छलाङहरु लगाईसकेकी छिन् । संगीतसँगको सम्बन्धको संयोग पनि रमाइलो छ दिपाको । बिर्तामोडस्थित भाडाको घरमा उनी लोडसेडिङको अन्धकारमा गीत गुन्गुनाइरहेकी थिइन् । छिमेकमा बसेका इलामकै स्रष्टा संगीतकार तथा गायक महेन्द्र राईले उनलाई सुनेछन् । राईलाई लाग्यो, दिपाको आवाजमा दम छ । राईकै सहयोग र हौसलाले उनलाई सांगीतिक उज्यालोतिर डोहोर्‍यायो ।

त्यसलगत्तै बिर्तामोडमै केहि समय संगीत प्रशिक्षण लिँदै कभर गीतहरु गाउन थालिन् । त्यसै साल महेन्द्र राईसँग उनको पहिलो एल्बम ‘पर्खाइ’ आएको थियो, जसमा उनले दुईवटा गीत एकल र दुईवटा गीत राईसँग गायकी थिइन् ।

कभर गीतहरुबाट गायन यात्रा सुरु गरेकी दिपाले मूलधारको संगीत क्षेत्रमा नआइसके पनि सामाजिक सञ्जाल र युट्युबजस्ता माध्यमहरुमार्फत् पहिले नै आफ्ना फ्यानहरुको जमात निर्माण गरिसकेकी थिइन् । ‘फ्यानहरुकै कारणले नै एकवर्ष अघिमात्र आफ्नै व्यक्तिगत फेसबुक अकाउन्ट खोलेकी हुँ,’ उनले हाँस्दै बताइन् । तर एकवर्ष अघिमात्र उच्च शिक्षाको लागि काठमाडौं छिरेकी दिपाले आरआर क्याम्पसमा संगीतको औपचारिक शिक्षासँगै कभर गायनबाट मूलधारको गायनमा पनि कदम सारिसकेकी छिन् ।

उनको ‘लेखान्तमै रहेछ मेरो’, ‘कर्के नजर हेरेर’ जस्ता चर्चित गीतहरु गाउनका साथै अहिलेका चर्चित संगीतकार दर्पण राई, सुमन राई, हरि पौड्यालको लगायतका संगीतमा आवाज दिई सकेकी छन् । उनले केहि समय अघिदेखि गायनबाट अघि सरेर आफ्नै शब्द संगीत पनि सृजना गरिसकेकी छिन् ।

अहिलेका सर्वाधिक रुचाइएका गायक राजेश पायल राई र गायिका मेलिना राईले पनि उनको शब्दसंगीतमा गीतहरु गाइसकेका छन् भने गायक राजु लामा उनको संगीतमा नयाँ गीत रेकर्ड गराउने तयारीमा छन् ।

यी प्रखर स्रष्टाहरु बाहेक पहिलो पटक स्टुडियोको सामना गर्ने नवोदितहरुको लागि पनि उनले शब्द संगीत खर्चिसकेकी छिन् । चर्चित एरेन्जर शिलाबहादुर मोक्तान, फनिन्द्र राई र बुद्ध सायमीजस्ता व्यक्तित्वहरुसँग काम गरिसकेकी दिपाले मात्र तीन वर्षको अन्तराल पाएका सफलता र अभिवृद्धि गरेको आफ्नो क्षमता सामान्यका लागि एकदमै अकल्पनिय छ ।

आरआरमै अध्ययनरत संगीतका विद्यार्थीहरु पनि उनको यो क्षमताको वाहवाही गर्न पिच्छे हट्दैनन् । पूर्वेली भाकाको मधुरपनदेखि पश्चिमी भाकाको तिख्खर र चञ्चलपन अनि, आधुनिक सेन्टिमेन्टल गीतदेखि पप गीतसम्म गाउन सक्ने उनको भर्सटाइल क्षमतामा उनको अथक साधना त छ नै तर, यसभन्दा बढी उनी यसलाई भगवानको बरदान र महेन्द्र राईको सहयोग र प्रेरणाको प्रतिफल मान्छिन् ।

संगीत क्षेत्र सम्पन्न र पुगिसरी भएकाको मात्र क्षेत्र हो, पढेर नै केहि गर्न र संगीत क्षेत्रमा नअल्झिरहन भनेर सधै आप्पाले गाली गरेपनि दपाले आफ्नो लगाव र लगानी त्यसैमा लगाएकी थिइन् । देशबाहिर बसेका नेपाली श्रोताहरुबाट पाएको माया र आर्थिक सहयोगले नै त्यस्तो प्रतिकूलताको बावजूद आफू आजसम्म यो ठाउँमा अडिरहेको उनी बताँउछिन् । शालिन र मेहेनती दिपा सांगीतिक छलाङको लागि अनुशासित र कर्मयोगी आचरण पनि एउटा अभिन्न पाटो हुने बताउँछिन् ।

गएको हप्तामात्र नयाँ गीतलाई स्वरबद्ध गरेकी दिपा आफुले कभर गीतहरुबाटै सांगीतिक क्षेत्रमा पाइला राखेको, यसैबाट आफुलाई चिनारी मिलेको र राष्ट्रियस्तरमा स्थापित भएको खण्डमा पनि कभर गायनलाई नछोड्ने दिपा बताउँछिन् । कभर गायनको क्षेत्रमा युगल जोडीको रुपमा चिनिने दिपा र महेन्द्र राईको कभर गायनमा गीतको यथा भाका र सुर कहिले मोडेको पाँइदैन ।

कभर गायनबारे एउटा फरक र गम्भीर धारणा राख्दै दिपा भन्छिन्, ‘कभर गाउने चलनले अरिजिनल गीतलाई छाँयामा पारेको छ, अचेल सबै श्रोताहरु अरिजिनल भर्सनको भन्दा मोडेर गाइएका कभरहरु गाउने प्रयास गरिरहेका हुन्छन् । यसो हुँदा पुराना सर्जकहरुको सृजनालाई त्यसको नक्कलले विस्थापित गरिरहेको छ ।’

The post कभर गायनबाट उदाएकी दिपा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles