डिभोर्सको कारण असमझदारी त हो नै तर त्यसको मूल कारण दुईबीचको सम्बन्धमा तेस्रोको प्रवेश हो
काठमाडौं, ३१ असार । व्यस्त सहरहरूमा सम्बन्ध कस्तो हुन्छन् ? पोष्टम्यारिज अफेयर्स चल्छन् कि चल्दैनन् भन्नेमा दुईमत छैन । भर्खरै दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछिको हत्याको मूल कारण हो, पोष्टम्यारिज अफेयर्स । उनको अपहरणकी मुख्य पूजा घर्तीमगरले प्रहरीमा दिएको बयान थियो– डेटिङमा बोलाएर अपहरण गरें । व्यापारी श्रेष्ठसँग कयन पटक भेट गरेको बयानमा उल्लेख भएपछि यसलाई दुईपाटोबाट विश्लेषण गरिएको छ । एउटा अपराधिक गिरोहको सक्रियता र अर्को विहेपछि चलेको अफेयर्स । श्रेष्ठले पूजासँग अफेयर्स नचलाएको भए, सायदै उनको ज्यान जाने थियो ।
‘खाना थालमा खानुपर्छ, पानी धारामा पिउनुपर्छ तर सेक्स जहाँ भेट्यो त्यहि गर्नुपर्छ’ भन्ने अमेरिकन अभिनेता स्टिभ मार्टिनको भनाइको पछि लाग्ने हो भने पूर्वीय समाजका सम्बन्धहरू कुनै बाँकी नरहने अवस्था आएको छ । यौन सम्बन्धको आधारमा रहेर नै धेरै सम्बन्धहरू भत्किएका मात्रै छैनन्, अपराधका घटना पनि बढेका छन् । प्रविधिले भित्राएको सहज सम्पर्कमात्र होइन, सम्बन्धका विविध आयामका बारेमा आउन थालेका अनेक प्रकारका नयाँ खबरले नेपाल पनि आक्रान्त बन्न थालिसकेको छ । अहिले चर्चा छ– ‘पोष्टम्यारिज अफेयर्स’ ।
सहरी क्षेत्रमा व्याप्त रहेको विवाहपछिको वैकल्पिक शारिरीक सम्बन्ध दूरदराजमा अभ्यास हुने क्रम पनि बाक्लिएको छ । सहरमामात्र समस्याको विषय बनेको यस्तो घरायसी कलहको सम्बन्ध अहिले गाउँघरको पनि समस्या हो । यस्तो सम्बन्धलाई पूर्वीय सांस्कृतिक भाषामा ‘नाजायज’ अथवा ‘अवैधानिक’ सम्बन्धका रूपमा व्याख्या गरिन्छ ।
घरमा पति या पत्नी हुँदाहुदै पनि बाहिर अन्यसँग सम्बन्ध राख्नुलाई ‘पोस्ट म्यारिज’ वा ‘एक्स्ट्रा म्यारिज’ अफेयर्सका रूपमा बुझिन्छ । यही अफेयर्सको चलन बढ्दै जाँदा पारिवारि (जायज) सम्बन्ध टाढा र अबैध सम्बन्ध नजिक हुन थालेका छन् । समाजमा विकृतिका रूपमा फैलँदै गरेका यस्ता व्यवहारले वैवाहिक सम्बन्धमात्र तोडिएका छैनन् समाजिक र सांस्कृतिक मान्यता पनि ढल्न थालेका छन् । घरमा पति वा पत्नी हुँदाहुदै परस्त्री वा परपुरूषस“ग सम्बन्ध जोडिँदै जादा पारिवारिक माया, स्नेह, विश्वास र सम्बन्धमा खोट पैदा भई रिस, असमझदारी हुँदै सम्बन्ध टुंगिन थालेका छन् । यसैको परिणाममा उच्च वर्गीय समाजले ‘डिभोर्स’को विकल्प रोज्ने गरेका छन् भने निम्न मध्यमवर्गीय समाजमा भने सामाजिक आक्षेप र कलंकसहित अपराधको चरणलाई पनि अँगाल्नु परेका भयानक उदाहरण छन् । पत्,ि पत्नीको सम्बन्ध टुटेसँगै सामाजिक नातासँग जोडिएका अन्य आयाम पनि प्रभावित हुन्छन् । डबल अफेयर्सका रूपमा परिचित यस्ता सम्बन्धले परिवार र समाजमा विखण्डन मात्र गरेको छैन नाबालक सन्तानको सुखद भविष्यमा समेत असर पुगेको छ ।
नेपाली समाजमा पनि सञ्चारमाध्यमसम्म झन्डै सातामा तीन भन्दा बढि सूचना यस्तै घटनामा आधारित भएर आउने गरेका छन् । सामाचारलाई आधारविन्दु बनाएर ‘पोष्टम्यारिज अफेयर्स’बारे खोजीनीति गर्ने प्रयत्न गरिएको छ ।
पत्नीले सँधैजसो झगडा गर्ने र राति सामाजिक सञ्जाल फेसबुक र प्राविधिक सूचनाको सरल साधन भाइबरमा लुकी–लुकी च्याट गर्न थालेपछि किर्तिपुरका एक युवा चिन्तित थिए । तीन वर्षको छोराको आमा समेत रहेकी पत्नी अर्कै केटासँग सम्बन्धमा रहेको अड्कल काटेका उनी भित्रभित्रै पीडित थिए । यहि प्रमायिात गर्नका लागि उनी एकदिन, आमालाई भेट्न हेटौंडा जान्छु भनेर घरबाट केहि दिनका लागि निस्किए । यता, पत्नीलाई पति दुई चार दिन नआउने भएपछि झन् खुसी थपियो । तर ती युवा आमा भेट्न नगई आमालाई बीचबाटोमा बोलाएर आमाकै मोबाइलबाट पत्नीलाई फोन गरे । सासुको मोबाइलबाट फोन आएपछि पति हेटौडा पुगेकोमा ढुक्क भइन् युवती । पति भने किर्तिपुर आसपासका होटलमा बसेर पत्नीको चियोचर्चो गर्न थाले । प्रहरी महिला सेलमा समेत जानकारी गराएका पतिले पत्नी अर्कै केटासँग चोभारको एक गेष्ट हाउसमा पुगेको जानकारी पाए । प्रहरीले पत्नीलाई अर्कै केटासँग रङ्गेहात समात्यो । ३ वर्षदेखि अवैध सम्बन्धमा रमाउँदै आएकी ती युवतीलाई अन्ततः अर्कै केटासँग समातेपछि उनको शंका पुष्टि मात्र भएन उनीहरूको सम्बन्धमा नै पूर्णविराम लाग्यो । उनीहरू ‘डिभोर्स’को चरणमा पुगे । आमाबाबु छुट्टिएसँगै ३ वर्षे बालकको भविष्य अन्यौलमा परेको छ । ती पुरूषस“ग ३ वर्षदेखि सम्पर्कमा रहेकी पत्नीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीका अनुसार ती छोरो लिएर माइत हिडेकी महिलामा कुनै अफशोच र पश्चाताप पनि थिएन ।
महोत्तरीको डाम्हीमडैंका एक युवक ३ वर्षको वैदेशिक रोजगारीपछि पत्नीसँग सुखद जीवन विताउने सपनामा केहि साता अघि घर फर्किए । आर्थिक बाध्यताले मलेसिया गएका सुरेश मुखियाकी पत्नी घर आएपछि मुस्किलले एक महिनासँगै बसिन् । विदेशबाट आएको एक महिना नवित्दै पत्नी तेतरीले पतिलाई मात्र छाडिनन् विदेशबाट कमाएर ल्याएको नगद र गरगहनासमेत लिएर अर्कै पुरूषसँग झागिएको सम्बन्धलाई पूर्णता दिन घर छाडेर हिडिन् । विदेशबाट पैसा कमाएर ल्याएपछि पत्नीसँगको जीवन सुखद होला भन्ने सपना देखेका सुरेशस“ग न अहिले पत्नी तेतरी सँगै छिन् न उनको श्रमको कमाई नै ।
उल्टै ससुराली पक्षले तेतरीलाई वेपत्ता पारेको भन्दै तनाव दिन थालेका छन् । विवाह भएको एक वर्षपछि परिवारलाई सुख दिने र बहिनीको विवाह गर्ने पैसा कमाउन भन्दै उनी ३ वर्षअघि मलेसिया गएका थिए । अहिले उनको विजोग भएको छ । न बहिनीको विवाह धुमधामले गर्नसक्ने उनको आर्थिक हैसियत नै छ ।
काभ्रेपलाञ्चोक महादेवस्थानमा ३ वर्षदेखि लिभिङटुगेदरमा बस्दै आएकी प्रेमिकालाई हत्या गरेको अभियोगमा प्रहरीले २८ वर्षिय श्याम श्रेष्ठलाई पक्राउ ग¥यो । प्रेमिका हत्यापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङको लमहीबाट पक्राउ गरेको थियो । नुवाकोट रातोमाटे–१ महादेवस्थान की १८ वर्षिय अन्जना थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठ ३ वर्षदेखि उनीसँग लिभिङटुगेदरमा थिए । युवतीले विवाहको दबाब दिन थालेपछि सुरू भएको झगडा र मनमुटावमा आक्रोशित भएका श्रेष्ठले कुटपिट गरी गत वैशाख २१ गते युवतीको हत्या गरेका थिए । कक्षा १० मा नुवाकोटको विद्यालयमा पढ्दै गरेकी थापा र त्यही सवारी चालकका रूपमा काम गर्ने क्रममा श्रेष्ठसँग भेटघाट भएपछि उनीहरूबीच सम्बन्ध बढेको थियो । विवाहित श्रेष्ठले ढाटेर थापालाई विगत तीन वर्षदेखि भक्तपुरमा ल्याएर राखेका थिए । ५ वर्षको छोराका बाबु समेत रहेका श्रेष्ठले युवतीलाई विवाह गर्ने प्रलोभन दिदै आएको प्रहरीसमक्ष स्वीकारेका थिए ।
यी सबै विवाहपछिका सम्बन्धका रूपममा स्थापित फरक–फरक प्रतिनिधी घटना हुन् । विवाहपछि हुने गरेका यस्ता घटना सुरूमा रहर वा आकर्षण र यौन सुखका लागि हुने गरेको देखिन्छ । विस्तारै बढ्दै जाने यस्ता गोप्य सम्बन्धले परिवार, सन्तानको भविष्य, धनसम्पत्तीको नोक्सानी र मान प्रतिष्ठामा आ“च मात्र नभइ अपराधको बाटोमा पनि धकेलिन बाध्य तुल्याउँछ ।
मनोविज्ञ प्राध्यापक गंगा पाठकका अनुसार आफ्नो सम्बन्धमा खुसी हुन सक्नुपर्छ । उनी भन्छन्,‘एक अर्काबीच खुसी हुन नसक्दा यस्ता आपराधिक घटना बढ्न थालेका छन् । पति वा पत्नीलाई अर्काका पति पत्नीसँग तुलना गरिँदा वैवाहिक जीवन तहसनहस हुने आधार खडा हुन सक्छन् ।’ पति पत्नीको सम्बन्धको बलियो आधार नै एक अर्काप्रतिको माया र विश्वास हो । सम्बन्धलाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा वैवाहिक सम्बन्ध कल्पना गरेजस्तो आदर्श नहुन सक्छ । एकअर्काबीच सम्मानपूर्ण र मायालु व्यवहार, पारिवारिक मेलमिलापजस्ता विषयमा असमझदारी आए दम्पत्ती सम्बन्धमा तेस्रो व्यक्तिको उपस्थिती सहज हुने विज्ञहरूको बुझाई छ ।
पति पत्नीको सम्बन्धको बलियो आधार नै एक अर्काप्रतिको माया र विश्वास हो । सम्बन्धलाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा वैवाहिक सम्बन्ध कल्पना गरेजस्तो आदर्श नहुन सक्छ
विवाह एक पवित्र बन्धन मात्र नभइ जन्मान्तरसम्म सँगै हिड्ने एक विश्वासिलो र भरपर्दो सम्बन्धका रूपमा पूर्वीय समाजले व्याख्या गर्दै आएको छ । यही सम्बन्धमा तेस्रोलाई प्रवेश दिदा डिभोर्ससम्म पुगेर नातासम्बन्धमा पूर्णविराम लाग्ने गर्छ । हिजोआज धेरै पति–पत्नीको वैवाहिक सम्बन्ध यस्तै कारणले धरापमा पर्दै आएको छ । वैवाहिक सम्बन्ध मजबुत हुन नसक्ने या टुट्ने कारणलाई विश्लेषण गर्दा सबै टु्टेका सम्बन्ध डबल अफेयर्सका कारण मात्र पनि होइनन् । अनि सम्बन्ध विच्छेद भएका सबै सम्बन्धहरू दोहोरो अबैधसम्बन्धका कारण मात्र पनि होइनन् । सम्बन्ध विच्छेदका अधिकांश कारण दुई जनाको सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेश नै हो ।
कसरी हुन्छ तेस्रो व्यक्तिको प्रवेश ?
वैदेशिक रोजगारीको सिलसिलामा पति विदेशमा हुने र तीव्र यौनचाहनाका कारण पत्नीहरू ‘सेक्स पार्टनर’ खोज्नतर्फ लाग्नाले सम्बन्धविच्छेद हुँदा घर परिवार ध्वस्त भएका छन् । यसलाई पुष्टि गर्ने महोत्तरीको घटना उल्लेख गरिसकिएको छ । धनसम्पत्ती सुनचाँदी र पैसा लिएर पत्नी फरार हुनुको स्पष्ट कारण शारीरिक सम्पर्क नै मुख्य कारक भएको प्रहरीको भनाई छ ।
वैदेशिक रोजगारीका कारण स्वदेशमा भएका पत्नीमात्र परपुरूषस“ग लागेका छैनन् । विदेश जाने पति समेत परस्त्रिीसँग नजिकिएपछि पनि सम्बन्ध टुक्रिएका छन् । पति वैदेशिक रोजगारीमा गई पैसा कमाएर आएपछि बाहिरै ‘गर्लफ्रेन्ड’ बनाउने अनि कमाएको सम्पत्ति पनि गर्लफ्रेन्डकै लागि खर्च गरी विवाह गरेका उदाहरण पनि छन् । यस्तो कार्यले पत्नीलाई मानसिक यातना दिएर डिभोर्सका लागि दबाब दिनेसम्मका घटना पनि प्रहरी र अदालतमा पुगेका छन् । वैदेशिक रोजगारका कारण पति मात्र होइन पत्नी पनि पीडित छन् । वैदेशिक रोजगारीका कारण पतिपत्नी सँगै बस्न नपाउनु, मान्छेका अरू आवश्यकताजस्तै यौनिक आवश्यकता पुरा नहुँदा आफ्नो सर्कल या चिनजानको मान्छेसँग यसै उद्देश्यले निकटता बढ्न थालेपछि सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेश हुन थाल्छ ।
कतिपय सम्बन्धमा भएका खटपटबीचको सारथीमा उभिएको तेस्रो व्यक्ति आफैंमात्र प्रवेश गर्दैन । उसलाई प्रवेश हुनका लागि आपसी सम्बन्धको तिखो असमझदारीले बाध्य बनाउने गर्दछ ।
सञ्जाल सम्बन्ध
सम्बन्धमा तेस्रो व्यक्ति आगमनका लागि सामाजिक सञ्जाल विशेष गरी फेसबुक सहयोगी बन्दै गएको छ । सामाजिक सञ्जालले सम्बन्धहरू जोड्ने मात्र नभई भइरहेका सम्बन्धलाई तोड्ने पनि गरेको छ ।
कतिपय वैवाहिक सम्बन्ध फेसबुकका कारण धरापमा मात्र परेका छैनन् अन्ततः सम्बन्ध विच्छेदसम्म पुगेका छन् । अनावश्यकरूपमा फेसबुकमा अत्यधिक समय खर्चिने, घर–व्यवहार र काममा महत्व नदिने, नयाँ अपरिचित साथीसँग नजिक भई घर–व्यवहारलाई बेवास्ता गर्ने तथा फेसबुककै माध्यमबाट सम्बन्ध स्थापित गरि चलिरहेको सम्बन्धलाई तहस नहस पार्ने क्रम बढ्दै गएको छ ।
अधिवक्ता गोपाल निरौला भन्छन्,‘झापाका सरोज धितालले कामको सिलसिलामा हङकङ गएको बेला उतै बसेकी पोखराकी रमा पुनः नाम गरेकी युवतीलाई फेसबुकबाट चिनजान र मायाप्रीति बसाई हङकङमै विवाह गरे । पछि नेपाल फर्किएलगत्तै सरोजकी पहिलेकी पत्नी भएको थाहा पाएर रमाले तल्कालै अदालतमा गई सम्बन्धविच्छेद गरिन् ।’ सामाजिक सञ्जालकै कारण अन्य दम्पतीले पनि पारिवारिक कलह, आपसी खटपटजस्तासमस्या बेहोरिरहेको निरौला सुनाउनु हुन्छ ।
नया पुस्ता र महत्वकांक्षा
आधुनिक समाज र विकसित मानसिकताका कारण पनि कतिपय सम्बन्धमा नयाँ व्यक्तिको प्रवेश हुन्छ । आफ्नो निर्णय आफै गर्नु पर्ने र युवा युवतीमा हुने उच्च महत्वकांक्षाका कारण पनि पछिल्लो पुस्ताका युवा युवतीबीचको सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन ।
आफ्ना इच्छा आकांक्षामा कोही एक बाधक महशुस गरिए स्वतन्त्रताका नाममा सम्बन्धले फरक बाटो लिने गरेको छ । अहिलेका केहि युवायुवतीमा गरिएको प्रारम्भिक सर्वेक्षणले सम्बन्धविच्छेदलाई हाउगुजी मान्न नहुने र भविष्यका लागि सम्बन्ध बाधक भए सम्बन्धलाई तोड्नुपर्ने तर्क राख्नेको जमात बलियो बन्दै गएको छ ।
विचारको विभेद, एक–अर्काप्रतिको अविश्वास र असन्तुष्टिले सुमधुर सम्बन्ध नहुने हँुदा पति–पत्नी छुट्टिएकै राम्रो हुन्छ भन्नेको जमात बढेको छ । पति–पत्नीको आ–आफ्नै पहिचान आफ्नै यथेष्ट कमाइ र बेग्लाबेग्लै सामाजिक प्रतिष्ठा हुन थालेपछि घरभित्रको सम्बन्ध भन्दा बाहिरको सम्बन्धले बढि महत्व पाउँदा पारिवारिक सम्बन्ध विग्रने गरेको छ ।
आफ्नो पहिचान र अधिकारको खोजीमा लागिरहेका आजकलका बौद्धिक तथा शिक्षित दम्पतीले भने असमझदारी र असहिष्णुताको अन्तिम रूप नै सम्बन्धविच्छेद भएको बताउनुले पनि यसलाई पुष्टि गरेको छ । निरसपूर्ण सम्बन्ध कायम राख्नुभन्दा सम्बन्धविच्छेद नै उपयुक्त हुने भन्दै आजभोलि प्रतिष्ठित व्यक्तिहरूको सम्बन्ध टुक्रिएका समाचार सुन्नु परेको छ ।
जोखिममा लभम्यारिज
आफैं रोजेर विवाह गरेका जोडी आफैं सक्षम हुने भएकाले व्यक्तिगत स्वतन्त्रता खोज्ने गर्छन् । आफू जति सक्षम भयो त्यति नै आफ्नो स्वतन्त्रता चाहने भएकाले परिवारिक दबाब, हिंसा सहेर बस्न सक्दैनन् र चाहदैनन् पनि ।
दाम्पत्य जीवन सहज नभएमा उनीहरू सम्बन्धविच्छेद गरेर समाजमा आफ्नो छुट्टै परिचय बनाउन चाहन्छन् । जसले गर्दा विवाहपछिको सम्बन्ध कमजोर बन्दै जान्छ र अन्ततः सम्बन्धले नय“ा बाटोको खोजी गर्छ ।
समाजलाई खुलातन्त्रको नाममा नियन्त्रणभन्दा बाहिर नधकेल्न पनि दिगो सम्बन्धका लागि हरेकले गम्भिर हुनु पर्ने देखिन्छ । अग्रगमनका नाममा पोस्ट म्यारिज रिलेसन र डबल अफेयर्समा मान्छेहरू अगाडी बढिरहँदा अनुशासित सभ्य समाजको मान्यता भत्किन थालेको छ । यौन र स्वतन्त्रताका नाममा सम्बन्धहरू टुक्रिने क्रम बढिरहने हो भने अपराध र हिंसाका घटनाले समाज आक्रान्त हुने प्रष्ट छ । यसका लागि किशोरकिशोरी अवस्थामै सम्बन्धको महत्वका बारेमा काउन्सिलिङ आवश्यक छ ।
कस्तो बन्दै छ कानून ?
प्रस्तावित देवानी कानुनमा पत्नीले परपुरूषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, पतिले पत्नीसँग जवरजस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्ेछद गर्नसक्ने प्रावधान देवानी कानुनमा प्रस्ताव गरिएको छ । पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुख दिने र पत्नीकोे इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती यौन सम्पर्क गर्ने गरेका घटना बाहिर धेरै आउने गरेपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसदहरूको भनाइ छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरीबिना पनि सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा कारण उल्लेख गरिएको छ भने पत्नीका लागि सम्बन्ध विच्छेद गर्नसक्ने ६ वटा व्यवस्था प्रस्तावित छन् ।
पतिले तीन वर्षसम्म पत्नीसँग अलग बसेमा, पतिको अङ्गभङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा तथा पत्नीले परपुरूषस“ग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीस“ग सम्बन्ध विच्छेद गर्नसक्ने छ । सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिस“ग सम्बन्ध विच्छेद गर्न चाहदा गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थाले पतिपत्नीबीच राजीखुसीले कानुनी व्यवस्थाअनुसार सम्बन्ध विच्छेद गर्न तयार भएमा सोअघि अंशवण्डा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । सम्बन्ध विच्छेदका लागि प्रक्रियामा गएपछि अदालतले पहिलो चरणमा दुवैबीच मेलमिलापको प्रयास गर्ने, मेलमिलाप नभएमा कानुन वमोजिम हुने व्यवस्था गरिएको छ ।
The post बिहेपछि झनै चल्छन् ‘अफेयर्स’ appeared first on Sajha Post.