काठमाडौं, ३० वैशाख । अहिलेको चर्चित ‘साइँली’ बोलको गीतका लेखक तथा संगीतकार कालिप्रसाद बास्कोटाले ‘ल्याइदिउला तिलहरी’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।
मार्मिक शब्द, गहन धुन र बान्कीमय गायन कौशलमा पैरवी गर्ने बाँस्कोटाले ‘साइँली’मा जस्तै ‘तिलहरी’मा पनि वैदेशिक रोजगारीकै कथा समेटेका छन् । ‘साइँली’मा युवक विदेश जाने अघिल्लो रातदेखि विदेश गइसकेपछिको कथा समेटिएको थियो भने यसमा विदेश जाने पक्का भएपछि उड्नु अघिको तीन दिनको कथा भनिएको छ ।
उनी गीत लेख्छन् । धुन तयार पार्छन् र आफैँ गाउँछन् पनि । ‘हिट’ मा पनि उनी कुनै विधामा तलमाथि पर्दैनन् । रेशम फिलिली, ठमेल बजार, नीर जैले रिसाउनीजस्ता हिट गीतमा उनको लेखकीय, संगीत र गायकी खुबी प्रस्तुत भइसकेको छ । संगीत मात्र दिएका हिट गीत त थुप्रै छन् । लेखेका र संगीत मात्र दिएका तर अरुले गाएर हिट भएका गीत पनि छन् । साइँली यसको उदाहरण हो । साइँलीमा जस्तै उनले गायनमा अरुलाई नै सुम्पेका छन् । मनिष ढकालको स्वर सुन्न पाइने यो गीत काली र मनिषको दोस्रो सहकार्य हो । करिब दुई वर्षअघि ‘परदेशी नभन’ बोलको गीतमा कालिले मनिषका लागि शब्द र धुन तयार पारिदिएका थिए ।
गीतमा कालिसँग सहकार्य गरेजस्तै मनिषले भिडियोमा भने निर्देशक निकेश खड्कासँग दोस्रो सहकार्य गरेका छन् । परदेशी नभनपछि उनीहरुको यो नयाँ सहकार्य हो । त्यतिबेला निकेशले निर्देशक निश्चल बस्नेतलाई अभिनय गराएका थिए भने तिलहरीमा रेशम फिलिली, लुट २, पलाँसजस्ता फिल्मबाट अभिनय कौशलता प्रस्तुत गरिसकेका कामेश्वर चौरसिया र रंगमञ्चबाट फिल्म अभिनयतिर मोडिँदै गरेकी लक्ष्मी बर्देवालाई जोडीको रुपमा प्रस्तुत गरेका छन् ।
भिडियो हेर्नुहोस्: