एजेन्सी, ३१ बैशाख । फ्रान्सको व्यङ्ग्यात्मक पत्रिका शार्ली हेब्दोमा छापिने कार्टुनले बेलाबेला विश्वभर चर्चा पाउने गर्छन् । कुनै बेला इस्लाम धर्मका मोहम्मद पैगम्बरको कार्टुन छापेपछि पत्रिका निकै विवादमा तानिएको छ ।
शार्ली हेब्दोले हालै छापेको एक कार्टुनबारे पनि निकै चर्चा भइरहेको छ । पत्रिकाको नयाँ कार्टुनमा भारतमा जारी कोभिड संकटबीच हिन्दू देवी-देवतामाथि तीखो व्यङ्ग्य गरिएको छ । उक्त कार्टुनलाई लिएर सामाजिक सञ्जालमा बहस समेत भइरहेको छ ।
पत्रिकामा अप्रिल २८ गते प्रकाशित कार्टुनले भारतमा जारी कोभिड संकट र अक्सिजनको कमीमाथि कटाक्ष गरेको छ । कार्टुनमा अक्सिजन नपाएर जमीनमा लडिरहेका भारतीय देख्न सकिन्छ । अक्सिजनको अभावसँगै हिन्दू देवी-देवतामाथि समेत मजाक गरिएको छ । ‘तीन करोड ३० लाख देवी-देवता, तर अक्सिजन उत्पादन गर्न कुनै देवी देवताले पनि सकेनन्’, कार्टुनको क्याप्सनमा लेखिएको छ ।
बिहीबार शार्ली हेब्दो ट्विटरमा ट्रेंडिङमा रहेको थियो । कैयौं ट्विटर प्रयोगकर्ताले कार्टुनलाई अपमानजनक भएको भन्दै शार्ली हेब्दोको बहिष्कार गर्नुपर्ने बताएका छन् । तर कतिपयले भने अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै कार्टुनको समर्थन गरेका छन् ।
‘प्रिय चार्ली हेब्दो, हाम्रोमा भएका देवी-देवताको वास्तविक संख्या ३३ करोड हो र सबै देवी-देवताले कहिल्यै हार मान्नु हुन्न भनेर सिकाउँछन् । हामीले आफ्ना दुश्मनलाई र सबै फ्रान्सेलीलाई समेत सम्मान गर्छौं, वाइन र फ्राइज यहाँमा पनि मन पराइन्छ । तिम्रो अफिस वा कर्मचारीमाथि कुनै आक्रमण हुने छैन भनेर ढुक्क हुनुहोस् । हर हर महादेश’, मनिक एम जोली नामका भारतीयले ट्विटरमा लेखका छन् ।
अर्का एक व्यक्तिले ट्विटरमा लेखेका छन्- ‘३३ करोड देवी-देवता प्रकृतिमा निहित छन् तर तिम्रो जस्तो मुलुकको प्रभावमा परेर भारतीय समाजले आफ्नै रुख काटिरहेको छ । हामीले रुखलाई समेत भगवान मान्छौं ।’
‘जब शार्ली हेब्दोले इस्लाम धर्मलाई गलत तरिकाले प्रस्तुत गर्दै कार्टुन छापेको थियो, तब भाजपाको IT सेलले खुशियाली मनाएको थियो । अब के गर्छन् होला ?’, भारतीय वकिल ब्रिजेश कलप्पाले ट्विटरमा लेखका छन् ।
तर कतिपयले भने शार्ली हेब्दोको समर्थन गरेका छन् । ‘म अझै पनि फ्रान्स र शार्ली हेब्दोको साथमा छु’, अट्रिज कसेरा नामका प्रयोगकर्ताले लेखेका छन्, ‘शार्ली हेब्दो पत्रिका अभिव्यक्ति स्वतन्त्रताका लागि प्रख्यात छ र उसले आफ्नो काम गरिरहेको छ ।’
शार्ली हेब्दोले धर्मप्रति कटाक्ष गर्दै कार्टुन छापेको यो पहिलो घटना भने होइन । सन् २०१५ मा शार्दी हेब्दोमा प्रकाशित पैगम्बर मोहम्मदका केही कार्टुनका कारण निकै ठूलो हंगामा मच्चिएको थियो ।
पैगम्बर मोहम्मदलाई निन्दा गर्दै कार्टुन छापेपछि शार्ली हेब्दोको कार्यालयमा आतंकवादी हमला भएको थियो र उक्त हमलामा परी पत्रिकाका १२ जना कर्मचारीले ज्यान गुमाएका थिए ।
त्यस्तै गत वर्ष समेत पैगम्बरका कार्टुन पुन: प्रकाशित भएपछि विवाद उत्पन्न भएको थियो । फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रोले समेत अभिव्यक्ति स्वतन्त्रता भन्दै पत्रिकाले बचाउ गरेका थिए । विवादबीच अक्टोबरमा स्यामुअल पेटी नामका शिक्षकको हत्या गरिएको थियो । आरोपित व्यक्तिले पैगम्बरको कार्टुन कक्षामा देखाएपछि शिक्षकको हत्या गरेको बताएका थिए ।
The post शार्ली हेब्दोले यसरी उडायो हिन्दू देवी-देवतालाई, सामाजिक सञ्जालमा तीखो बहस appeared first on Sajha Post.