सिन्धुपाल्चोक, २९ वैशाख । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिराञ्चौर एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले बुधबारबाट सुरु गरेका हुन् ।
वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोस्रो एकीकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ । सिन्धुपाल्चोक मेलम्ची-८, गिराञ्चौरका ६५ परिवार भूकम्पपीडितलाई दसैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवम् हास्यकलाकार सिताराम कट्टेलले बताए ।
यसअघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पीडितलाई हस्तान्तरण गरेका थिए । सबैको साथ र सहयोग भएमा लडेको गिराञ्चौर दसैँसम्ममा सुन्दर एकीकृत बस्ती बन्ने उनको भनाई छ ।
पहिलो एकीकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेकोभन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । ‘लडेको बस्ती उठाउने अभियानको नेतृत्वमात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिराञ्चौर एकीकृत बस्ती निर्माण सम्पन्न हुने विश्वास छ,’ उनले भने ।
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिक सँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता लगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुस बताउँछन् ।
आफूहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर गिराञ्चौर एकीकृत बस्ती निर्माणमा जुटिसकेकाले देश-विदेशमा रहेका नेपाली र नेपालीलाई माया गर्ने दाताहरु समक्ष उनीहरुले सहयोगको अपिल गरेका छन् ।
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । तर, ६५ भूकम्पपीडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रय स्थल निर्माण सम्पन्न गर्न ४ करोडभन्दा बढी लाग्ने देखिएको उनको भनाइ छ ।
‘काम सुरु गरिसकेका छौँ, तर पर्याप्त रकम छैन । अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नु पर्नेछ । त्यसैले सहयोगको निकै जरुरी परिरहेको छ,’ उनले भनिन् ।
गिराञ्चौरलाई एकीकृत बस्तीमात्रै नभएर बाल मैत्री, अपाङ्ग मैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन् । सरकारले तोकेको मापदण्डअनुसार बस्तीमा भूकम्पप्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
भिडियो हेर्नुहोस्:
The post दोस्रो एकीकृत बस्ती बनाउन यसरी ढुंगा बोक्दैछन् धुर्मुस-सुन्तली (भिडियोसहित) appeared first on Sajha Post.