काठमाडौं, २० चैत । बलिउड अभिनेता अजय देवगनको आज ५२ औं जन्म दिन हो । देवगनले आफ्नो जन्मदिन खासै धुमधामका साथ मनाउँदैनन् ।
अजयले आफ्नो जन्मदिनलाई त्यति चासो पनि दिदैनन् । धुमधामसँग जन्म दिन मनाउनेप्रति उनको खासै चासो समेत छैन । तर उनकी आमा र पत्नी काजोलले जन्म दिनका अवसरमा केही न केही गरेर रमाइलोसँग मनाउने गर्छन् ।
यस पटक भने कोरोनाको त्रासका कारण अजयको जन्म दिनमा पारिवारिक जमघट र पार्टीको व्यवस्था नहुने भएको छ । यद्यपि, काजोल र आमाले भने घरमै बसेर भएपनि सामान्य तरिकाले उनको जन्म दिन मनाउने तयारी गरेका छन् ।
अजयले जन्मदिनमा कहिल्यै बर्थडे केक काट्दैनन्
एक न्युज पोर्टलमा अन्तर्वार्ता दिँदै अजयले आफू शान्त स्वभावको मानिस भएको खुलासा गरेका छन् । उनले आफूलाई कहिल्यै पनि जन्म दिन मनाउन रहर नलाग्ने समेत भनेका छन् । साथै, बर्थडे केक पनि कहिल्यै नकाट्ने उनको भनाइ छ । उनका अनुसार बर्थडे केक घरका अन्य सदस्यले नै काट्ने गर्छन् ।
‘मैले जन्मदिन बिल्कुल मनाउँदिन भन्दा फरक पर्दैन । तपाईले मलाई शान्त वा निजी व्यक्ति भन्न सक्नुहुन्छ । केक अफिस वा शुटिङमा त काटिन्छ तर घरमा यो काम छोरोछोरीले गर्छन्’, अजयले भने ।
आफू जन्म दिन मनाउने कुरामा खासै उत्साहित नहुने भए पनि पत्नी काजोल र आमाले जन्मदिनलाई विशेष बनाउने प्रयास गर्ने समेत अजयले बताए । अजयका अनुसार पत्नी र आमाले भने परिवारका अन्य सदस्यलाई बोलाएर घरमा नै सानो पार्टी तथा जमघटको व्यवस्था गर्दै जन्म दिन मज्जाले मनाउने गर्छन् ।
कोरोनाको कहर बढिरहेका बेला आफ्नो जन्म दिनका अवसरमा अजयले सबै कुरा छिटै सामान्य होस् भनेर सबैलाई शुभकामना पनि दिएका छन् । सबै मानिसको जीवन पुरानै अवस्थामा फर्कियोस् भन्ने उनको कामना छ ।
सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका अजय यस वर्ष पनि निकै व्यस्त हुनेछन् । उनका सामु हाल ३ वटा फिल्म छन् । उनले यस वर्ष ‘मैदान, ‘आरआरआर’ र सूर्यवंशीमा अभिनय गर्दैछन् । अजयको जन्म दिन पारेर ‘आरआरआर’मा उनको पहिलो लुक समेत सार्वजनिक गरिएको छ ।
The post आज अजयको जन्म दिन तर कहिल्यै काट्दैनन् बर्थडे केक appeared first on Sajha Post.