एजेन्सी । भारतीय अभिनेता ओम पुरीको शुक्रबार हृदयघातका कारण निधन भयो । करीब सयभन्दा बढी बलिउड फिल्म र २० वटा हलिउड फिल्ममा अभिनय गरेका थिए । उनले फिल्म ‘अर्ध सत्य’ र ‘आरोहण’ मा निभाएको भूमिकाले राष्ट्रिय अवार्ड पाएको थियो । सन् १९९० मा ओम पुरीलाई पद्मश्री समेत प्रदान गरिएको थियो । यसलाई भारतको निकै ठूलो सम्मानको रुपमा लिने गरेको पाइन्छ ।
बताइएअनुसार हालका दिनमा उनी सलमान खान स्टारर फिल्म ‘ट्यूबलाइट’ को शुटिङमा व्यस्त थिए । उनका छिमेकीका अनुसार गत आइतबार मात्रै एक फिल्मको शुटिङ सकेर घर आइपुगेका थिए । शुक्रबार उनको चालक घरको ढोका ढकढक्याएका थिए । ढोका नखोलिएपछि उनले प्रहरीमा सम्पर्क गरेका थिए ।
को हुन् ओम पुरी ?
ओम पुरीको जन्म सन् १९५० अक्टोबर १८ तारिखका दिन पञ्जाबमा भएको थियो । उनले हिन्दी फिल्मका अलवा पाकिस्तानी तथा हलिउड फिल्ममा समेत काम गरिसकेका छन् ।
पुरीले पुणेको फिल्म एण्ड टेलिभिजन इन्टिच्यूट अफ इण्डियामा अध्ययन गरेका थिए । उनले दिल्लीको नेशनल स्कूल अफ ड्रामामा पनि अध्ययन गरेका थिए । जहाँ जसीरुद्दीन शाह उनका सहपाठी थिए ।
ओमपुरीले आफ्नो निजी थिएटर ग्रुप ‘मजमा’ समेत बनाएका थिए । ओम पुरीले आफ्नो जीवनमा दुईवटा विवाह गरेका थिए ।
यस्तो रह्यो फिल्मी यात्रा
साधारण अनुहारको बाबजुद् पनि ओम पुरी आफ्नो विशेष अभिनय, आवाज, र डाइलग प्रस्तुतीकरणमा परिचित थिए । उनले अभिनय गरेको पहिलो चलचित्र ‘घासीराम कोतवाल’ हो । जुन सन् १९७६ मा रिलिज भएको थियो ।
अमरीश पुरी, स्मिता पाटिल, नसीर र शबाना आजमीसँग मिलेर उनले केही सम्झनलायक फिल्महरु दिए । सन् १९८० मा रिलिज भएको फिल्म ‘भवनी भवई’ र ‘आक्रोश’, सन् १९८१ मा ‘सद्गति’, १९८२ मा ‘अर्ध सत्य’ र ‘डिस्को डांसर’ १९८६ मा आएको फिल्म ‘मिर्च मसाला’ र १९९२ मा धारावी’ मा उनको भूमिका रुचाइएको थियो ।
सनी देओलसँग ‘घायल’ र १९९६ मा गुलजारको ‘माचिस’ मा उनले आतंककारीको भूमिका निभाएका थिए । फिल्म ‘माचिस’ मा ‘आधों को ४७ ने लील लियो और आधों को ८४ ने’ बोलेको यो डाइलग निकै चर्चित बनेको थियो ।
‘जाने भी दो यारो’, ‘हेरा-फेरी’, ‘चाची ४२०’, ‘मालामाल वीकली’, ‘सिंग इज किंग’, ‘बिल्लु’ मा ओम पुरीले कमेडी फिल्म गरेका थिए ।
The post को हुन् ओम पुरी ? यस्तो थियो उनको फिल्मी यात्रा appeared first on Sajha Post.