एजेन्सी, ३ असार । अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे पछि धेरै कलाकारहरुले बलिउड फिल्म उद्योगको तितो सत्यबारे खुलेर कुरा राख्न थालेका छन् ।
केही सीमित मानिसहरुका कारण धेरै कलाकारहरुको करियर कसरी समाप्त हुन्छ भन्ने कुरा बाहिर आईरहँदा चर्चित फिल्म निर्माता तथा निर्देशक अभिनव सिंह कश्यपले बलिउडको कालो सत्य ओकलेका छन् । साथै फिल्म उद्योगमा आफ्नो असफलताका लागि उनले सलमान खान र उनका परिवारजनमाथि दोष लगाएका छन् ।
सुशान्त सिंह राजपुतको निधनपछि अभिनवले एउटा लामो पोस्ट आफ्नो फेसबुकको भित्तामा पोस्ट गरेका छन् । सुशान्तको आत्महत्याले बलिउड फिल्म उद्योगमा धेरैले भोगिरहेको समस्यालाई उदाङ्गो पारिदिएको बताएका छन् ।
यसबीच उनले आफ्नो अनुभव साझा गर्दै फेसबुकमा आफूले पनि शोषण र दादागिरी झेल्नु परेको कुरा लेखेका छन् । दबङ फिल्मपछि सलमान खानका दुई भाइ अरबाज खान र सोहेल खानले परिवारसँगै मिलेर आफ्नो करियरमाथि नियन्त्रण जमाउन कोशिस गरेको आरोप लगाए । उनीहरुले आफूलाई डर देखाएको धम्काएको पनि अभिनवको आरोप छ । खान परिवारकै कारण दबङ टुको निर्माणबाट आफू पछि सरेको उनले बताए ।
सोहेल र अरबाज खानले आफ्ना विभिन्न प्रोजेक्टहरुलाई धरापमा पारिदिएको उनको आरोप छ ।
फिल्महरुको रिलिज गर्ने समयमा पनि सलमान खानको परिवार अवरोध बनेर खडा हुने गरेको उनले पोस्टमा लेखेका छन् ।
The post सुशान्तको निधनपछि अभिनव कश्यपले लगाए सलमानको परिवारमाथि गम्भीर आरोप appeared first on Sajha Post.