काठमाडौं, ७ मंसिर ।
कुनै समय दर्शकको पहिलो रोजाईमा पर्ने हास्य टेलिश्रृङ्खला ‘भद्रगोल’ हाल टेलिभिजन सेटमा देख्न पाइन्न । केही प्राविधिक समस्याका कारण टेलिभिजनको पर्दामा यो कार्यक्रम देख्न नपाइएको महिनौँ भएपनि यसका कलाकारहरुलाई दर्शकले अझै बिर्सिएका छैनन् ।
भद्रगोलका तिनै चर्चित कलाकारमध्ये एक हुन् ‘सिते बा’ अर्थात मधुसुदन पाठक । ‘ए हो, ठिकै छ नि त!’ भन्ने उनको डायलग अझै पनि धेरैको मुखमा झुण्डिएको पाइन्छ । टेलिभिजनको पर्दामा सिधासाधा देखिने, जसले जे भने पनि ‘ए हो, ठिकै छ नि त!’ भनेर खितखित गर्ने यी ‘वृद्ध पात्र’ वास्तविक जीवनमा भने निकै इनर्जेटिक र ह्याण्डसम पनि छन् ।
आफूलाई ‘पार्टटाइम कलाकार’ भन्न रुचाउने पाठक एक सफल युवा व्यवसायी हुन् भन्दा फरक पर्दैन ।
हामी यिनै ‘यूथ अाइकन’लाई पछ्याउँदै गोंगबुस्थित उनको अफिसमा पुगेका थियौँ ।
सामान्य तबरले नै बित्यो बाल्यकाल
मधुसुदनको बाल्यकाल आम नेपाली बालबालिकाको भन्दा त्यति अलग रहेन । बुबा गोपीकृष्ण पाठक शिक्षक हुन् । मध्यम बर्गीय संयुक्त परिवार हुँदाहुँदै पनि बुबा सरकारी जागिरे रहेकाले उनले अभावको खासै सामना गर्नु परेन ।
मधुसुदन सानैदेखि लगनशील थिए । उनी आफूले सक्ने काममा आमाबुबालाई सघाउँथे । संयुक्त परिवार भएकाले घरमा धेरै जना थिए । उनले सबैबाट भरपूर माया पाए ।
बुबा र काका दुबै शिक्षक भएकाले घरमा पढ्ने राम्रो वातावरण थियो । त्यसैको प्रभाव उनी पढाइमा पनि राम्रै थिए । काभ्रे जिल्लाको कोशीरेखामा जन्मिएका पाठकले एसएलसीसम्मको अध्ययन गाउँकै श्रीराम उच्च मा.वि. मा गरे ।
बाल्यकालमा चञ्चल र चकचके स्वभावको भएपनि उनी नराम्रो संगतमा भने कहिल्यै फसेनन् । मास्टरको छोरो, गल्ति गर्न पनि कहाँ भयो र !
‘त्यतिबेला कतिपय साथीहरु त लहैलहैमा लागेर चोरीजस्ता गलत काममा पनि सहभागी हुन्थे, तर म त्यसबाट टाढै रहेँ,’ स्कूले जीवनको समरण गर्दै पाठक भन्छन्, ‘घुलमिल भने सबैसँग हुन्थेँ । जसलाई पनि साथी बनाउन खोज्ने, नजिक हुन खोज्ने खालको स्वभाव थियो मेरो ।’
त्यसैले सानै उमेरमा पनि उनी धेरैको रोजाइमा पर्थे । ‘म अरुप्रति आकर्षण हुने भन्दा पनि अरु चाहिँ मप्रति आकर्षित भएको पाउथेँ,’ उनले फिस्स हाँस्दै भने, ‘अझ आफ्नै आफन्तले समेत आँखा लगाउँदा अफ्ठ्यारो लाग्थ्यो ।’
अनौपचारिक रुपमा उनी दुई वर्षको उमेरमा नै स्टेज चढेका रहेछन् । गाँउमा भएको एउटा चुनावी कार्यक्रममा उनी सरासर स्टेजमा गएर एक नेताको काखमा बस्दा सबै गलल हाँसेका थिए रे !
बाल्यकाल सम्झिँदा उनको अनुहारमा एकखालको चमक देखियो । उनी भन्दै थिए, ‘जब रेडियोमा गीत बज्थ्यो, म त कम्मर मर्काउँदै नाचिदिन्थेँ ।’
कति वर्षको हुनुभयो ? भनेर सोध्दा उनले आफू जन्मिएकैताका घटेको एक घटना सम्झिए । ‘म जन्मिएको तीन दिनपछि ठूलो भूकम्प आएको थियो रे ! जुन २०४५ सालको भूकम्प थियो । सबैभन्दा ठूलो अनुभव त त्यति खेर नै लिइयो होला । थाहा नपाए पनि मैले सामना गरेको त्यो पहिलो प्राकृतिक प्रकोप थियो । उमेर त यसबाट नै खुलिहाल्छ नि !’
जन्मभूमीबाट कर्मभूमीको यात्रा
२०६० साल उनले एसएलसी उत्तिर्ण गरेको वर्ष ।
एसएलसीपछि उनी अध्ययनका लागि काठमाडौं आए, जहाँ उनका दाइ-दिदी पहिलेदेखि नै बस्थे । त्यसैले उनले यहाँ सेटल हुन त्यस्तो मेहनत गर्नु परेन । तर, दुई वर्षपछि दिदीको बिहे भयो । दाइ राजधानी बाहिर गए, त्यसपछि मात्र हो उनी एक्लै भएको ।
उनी बसेको घरमा घरबेटी नभए पनि उनकै भाषामा दोस्रो दर्जाको घरबेटी (घरबेटीले विश्वास गरेको पात्र) हावी हुँदा उनलाई रिस उठ्थ्यो । स्टोभ बाल्दा पनि आवाज आयो भनेर गाली गर्ने गरेको उनी सम्झिन्छन् । त्यसपछि उनीहरु कोठा खोजेर अन्तै सरे ।
मानिसको जीवनको रफ्तार सधैँ एउटै गतिले अघि बढ्दैन । भनिन्छ, ‘मानिसको जीवन भिरमा अड्किएको एउटा ढुंगाजस्तै हो । एकदिन त्यो ढुङ्गा भिरबाट खस्छ । समयको अन्तरालसँगै खोलामा पुग्छ । खोलामा पनि उसले निकै हण्डर पाउँछ । त्यहाँ बाढी आउँदा कहिले कता ठोकिन्छ कहिले कता । बिस्तारै त्यो ढुंगा स्पात झै मोडिएर चिल्लो अनि आकर्षक लाग्न थाल्छ ।’ हो यस्तै हुन्छ जीवन पनि ।
दाइ-दिदी पढ्दा लागेको ऋणका कारण सधैँ घरबाट पैसा मागिरहन गाह्रो भयो । त्यसपछि उनी आफैँ कमाउने बाटो खोज्न थाले । त्यतिबेला मार्केटिङ गरेको अनुभव उनीसँग छ ।
‘चिया मसला, फेसवास अनि कस्मेटिक सामान बोकेर बजार चाहार्थेँ । एकदमै हिडनुपर्थ्यो । अरु त ठिकै हो, खुट्टा दुखेर नै हैरान हुने । मोजा गन्हाएर अर्को बिजोग । हिँडाइको चापले गर्दा खुट्टा सुनिन्थ्यो । अझ केहीले त कुकुर फुकाएर लाइदिन्थे । उनीहरुमा मानवीयता भन्ने कत्ति पनि नभएको आभास हुन्थ्यो,’ राजधानीमा दु:ख गरेको क्षण सम्झिँदा उनी भावुक हुन्छन् ।
हुन त उनले बाल्यकालमा पनि केही दु:ख गरेका थिए, ‘घरमा कुखुरा पालिन्थ्यो । त्यसमा मैले बिहान/बेलुका दानापानी गर्नु पर्थ्यो । कफी लगाउन खाडल खन्नु पर्थ्यो । बुबा कृषिमा अलि बढी नै चासो राख्ने भएकाले घरमा नयाँ-नयाँ जातका बीउहरु आउँथे ।’
त्यतिबेला उनकोमा खरायो, मौरी पनि पालिएको थियो । ‘घरमा मिल पनि थियो,’ कुराकानीको क्रममा पुन: बाल्यकालमा फर्किएका उनले भने, ‘घरमा मिल भएका कारण भारी हाल्नु पर्थ्यो, घान लगाउन पर्थ्यो, अनुभव धेरै कुराको लिइयो । यसलाई दु:ख यसलाई दु:ख भनौँ या अनुभव ।’
एसएलसी पछिको एक वर्ष यत्तिकै गुज्रियो ।
ठूलो भएपछि यही नै बन्छु भन्ने उनमा थिएन । तर इञ्जिनियर पढ्नका लागि उनले निकै प्रयास गरेका रहेछन् । पोखरा अनि थापाथलीमा प्रवेश परीक्षा पनि दिए, तर नाम निस्किएन ।
पोखरामा त थोरै पोइन्टले उनी पछि परे । उनलाई बैकल्पिकमा राखिएको थियो, तर मौका आएन । त्यतिबेला इञ्जिनियर पढ्न नपाएको सम्झिँदै उनी भन्छन्, ‘इञ्जिनियर बन्ने सपनामा तुषारापात भएपछि पाटन मल्टिपल क्याम्पसमा भर्ना भएँ ।’
सफल युवा व्यवसायी
पहिला मार्केटिङ गरेका कारण उनलाई पछि त्यस्तै अन्य ठाँउबाट अफर आइरह्यो । तर त्यही दु:खदायी पुरानो काममा फर्किन उनलाई मन लागेन । घरमा पहिला मौरीपालनको अनुभव रहेकाले उनी यसैबारे थप जान्ने उद्देश्यसहित तालिममा सहभागी भए ।
अहिले उनले मौरीपालनका साथै रिसर्च सेन्टर पनि खोलिसकेका छन् ।
सबै कुरामा अनुभव बटुल्दै उनी सहकारी क्षेत्रमा आइपुगे । उनको चिनजान काठमाडौंको सहकारी क्षेत्रमा कहलिएका यम्बरबहादुर कार्कीसँग भयो । उनीसँग मार्केटिङको राम्रो अनुभव भएका कारण सहकार्य गर्न कार्कीले अनुरोध गरे ।
तस्बिर फेसबुकबाट
‘सुरुमा त तालिम मात्र सञ्चालन गर्यौँ, पछि हो सहकारी दर्ता गरेर काम अघि बढाएको,’ आफ्नो जीवनको व्यवसायिक पाटो खोल्दै उनी भन्छन्, ‘त्यतिबेला नै दर्ता गरिएको जेष्ट बचत तथा ऋण सहकारीकै जगमा अहिले हामीले जेष्ट ग्रुप नै बनाइसकेका छौँ ।’
जेष्ट ग्रुपले अहिले जेष्ट स्कूल, मौरीपालन, फिटनेस क्लब, ब्याटमिन्टन कोर्ट, जेष्ट मिडिया हाउस, सोलमारी रेष्टुरेन्ट (सञ्चालनमा आउन लागेको) लगायतका व्यवसायमा लगानी गरिरहेको छ ।
त्यसैले उनी आफूलाई पार्टटाइम कलाकार भन्न रुचाउँछन् । ‘कलाकारिताले मलाई चिनायो, तर म पार्टटाइम कलाकार हुँ,’ उनी भन्छन्, ‘कलाकारितालाई पर्याप्त समय दिनै सकेको छैन ।’
उनीसँग सञ्चारकर्मीका रुपमा काम गरेको अनुभव पनि छ । राजधानीकै ‘मेरो एफ.एम’मा पाठकले चार वर्षसम्म ‘सहकारी आवाज’ नामक कार्यक्रम चलाएका रहेछन् ।
संयोगले कलाकार
मानिसले चाहेको सबै कुरा पूरा गर्न सक्दैन, तर संयोग कस्तो आइदिन्छ भने कतिपय कुरा नचाहे पनि प्राप्त हुन्छ । यस्तै हो उनका लागि कलाकारिता । उनले कलाकार बनेर चिनिने सपना पहिले देखेका होइनन् ।
पाठकले कलाकारिता क्षेत्रमा आउन खासै संघर्ष गर्नुपरेन । सहकारी लगायतका अन्य संस्थाको प्रगतिको अभियानमा रहँदै गर्दा मिडिया हबका सोम धितालसँग उनको राम्रै चिनजान भएको रहेछ । उनी र धिताल एउटै टोलमा बस्ने रहेछन् । अझ अर्को महत्वपूर्ण कुरा त उनी बस्ने घर नै भद्रगोलका निर्माता एवम् कलाकार सुवास कार्की ‘बेलासे’को थियो ।
मिडिया हबले ‘झ्याईँकुटी झ्याईँ’ भन्ने कार्यक्रमको स्थानमा नयाँ हाँस्य कार्यक्रम ल्याउने तयारी गर्दै थियो । त्यसैमा पाठकले पनि एउटा भूमिका निभाउने सल्लाह भयो । ‘जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे) पनि पहिलाको सिरियल ‘सिस्नोपानी झ्याम्म’ बन्द भएकाले नयाँ काम गर्न चाहिरहेका थिए । यही कुराले हामी सबैलाई एक ठाउँमा ल्यायो,’ पाठकले कलाकारितामा लाग्दैगर्दाका सुरुवाती दिनहरु सम्झिए ।
उनले ‘सितेबा’को पहिचान नबनाउँदै भद्रगोलको टिमसँग उनी पनि इटहरीको एक कार्यक्रममा गए । त्यसअघि उनले भद्रगोलको नवौं भागमा धतुरेको भाञ्जाको रुपमा पहिलो पटक क्यामेरा फेस गरेका थिए । इटहरीको कार्यक्रम सकिएपछि अठारौं भागमा उनलाई प्रवेश गराउने कुरा भयो । उनीहरुले एउटा बिन्दास क्यारेक्टर खोजिरहेका रहेछन् । जहिले पनि रमाइलो गर्नुपर्ने, चाहे दु:ख होस् या सुख । ‘त्यसमा मलाई लिने कुरा भयो,’ पाठक भन्छन् ।
यसरी जन्मियो ‘सितेबा’ क्यारेक्टर
उनी मेरो एफएममा कार्यक्रम चलाउँथे । त्यसबेला उनलाई धुर्मुस-सुन्तलीका साथै डिजराज पौडेल, दिलिप रायमाझीसँग कार्यक्रमका लागि थाइल्याण्ड जाने मौका मिल्यो । सो कार्यक्रममा उद्घोषण उनले गरेका थिए । धुर्मुस लगायतका टिमसँग उनी त्यहाँ करिब पन्ध्र दिन बसे । आयोजक टिमकै केदार नामका एक सदस्य जहिले पनि पनि बिन्दासमा हुन्थे । दस बज्दा पनि नउठेपछि केदार दाइ उठ्ने होइन भनेर बोलाउँदा ‘हुँदैन, हुँदैन, उठ्नै हुँदैन’ भन्थे । अझै कर गरेपछि उनी ‘अहिले नै पो उठ्नु पर्ने, ए हो ठीकै छ नि त!’ भन्थे ।
‘मैले त्यसैलाई केही मोडिफाइ गरेर हाँसोसहित सितेबा भन्ने क्यारेक्टर बनाएँ,’ उनी सम्झिन्छन् । केदारको आवाजको नक्कल भने खासखुसमा विल्सन बिक्रम राईले नक्कल गरेका रहेछन् ।
उनी भन्छन्, ‘खितिति त जो पनि हाँस्छ, कुम हल्लाएर हाँस्न सुरु-सुरुमा गाह्रो हुन्थ्यो । कुनै पनि कुरालाई लामो बनाएर प्रस्तुत गर्दा मानिसहरुमा अर्के प्रभाव पार्न सकिने रहेछ ।’
बाटोमा हिँड्दै गर्दा कहिलेकाहीँ उनी बालबच्चाले ‘ए हो, ठिकै छ नि त !’ भन्दै खेलेको देख्छन्/सुन्छन् । ‘यस्तो देख्दा निकै खुसी लाग्छ,’ उनले भने ।
प्रेम सहिद !
माया-प्रेमको प्रसङ्ग कोट्याउँदा उनी मज्जैले हाँसे । अनि जवाफ दिए, ‘मेरो एउटा लभचाहिँ सहिद भएको हो ।’
भर्खरै अंकुराएको प्रेमको मुना उनी थाइल्याण्ड जाँदा अरु कसैले चुँडिदिएछ । सुरुमा त उनलाई सहन निकै गाह्रो पर्यो । झन अर्कैसँग बिहे गरेको फोटो देख्दा उनलाई सही सक्नु भएन । दिन बित्दै गयो । व्यस्थताका कारण उनी छिट्टै सम्हालिए ।
‘त्यसपछि कहिल्यै लभ गरिनँ,’ उनी भन्छन्, ‘मलाई लभ गर्ने फुर्सद नै भएन ।’
त्यसपछि भने उनले बेलासेले खोजेको केटी (रिजु पौडेल)सँग बिहे गरे ।
विवाहको तस्बिर फेसबुकबाट
पाठक आफ्नो सफलतालाई सपनासँग जोड्छन् । ठूलो सोच लिएर अघि बढ्दा ठूलै प्राप्ति हुने उनको बुझाइ छ । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक,’ ‘ठूलै सपना देख्नुपर्छ,’ उनी भन्छन्, ‘सफल हुने कि नहुने भन्ने कुरामा तपाईंको सोचाइले नै महत्वपूर्ण भूमिका खेल्छ ।’
The post त्यो फूल अर्कैले चुँड्यो, त्यसपछि कहिल्यै फुर्सद भएन ‘सिते बा’लाई appeared first on Sajha Post.