काठमाडौं, १९ कात्तिक । बलिउडका कलाकार राजनीतिमा प्रवेश गरी सांसद बनेका उदाहरणका हिमायती बन्नका लागि निर्वाचनका मुखमा नेपालमा पनि विभिन्न कलाकार राजनीतिक दलमा सक्रिय हुने चाहनाले फरक–फरक राजनीतिक दलमा आवद्ध भए ।
नेताको नजिक हुँदा सांसदसम्म बन्न सकिने, चुनाव लड्न टिकट पाउने र जितेर प्रदेश संसद तथा प्रतिनिधि संसदमा छिर्ने सपना ‘माछा-माछा भ्यागुतो’ भन्ने उखानजस्तो बनेको छ ।
कलाकारितामा नाम कमाएपछि संसदको महत्वकांक्षामा राजनीतिक दलमा आवद्ध हुने केही कलाकारहरू कोही नेपाली कांग्रेसभित्र छन्, कोही एमाले त कोही माओवादी । पछिल्लो समय केही कलाकार राप्रपामा पनि प्रवेश गरेका थिए । तर, के उनीहरूको यो प्रयास सफल भयो त ? केहीको क्षीण सम्भावना देखिएपनि अधिकांशको संसद छिर्ने पहिलो खुड्कीलो नै भत्किएको छ ।
कोमल वली
राप्रपा एकीकरणपछिको महाधिवेशनमा सर्वाधिक मत ल्याएर जित हासिल गरेकी कलाकार, गायिका कोमल ओलीले दाङमा टिकट पाउने सर्तमा नेकपा एमालेमा प्रवेश गरिन् । अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए । तर, उनले एमालेबाट त्यस्तो मौका पाइनन् ।
संसद सदस्य बन्ने इच्छालाई एमालेले पूरा नगरेको आक्रोशमा आउँदै गरेको प्रतिनिधि सभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी पनि दर्ता गराइन् । तर, फिर्ता गरिसकेको दाबी गरिएको छ ।
वली मिडिया हुँदै लोकगायन र राजनीतिमा पनि सक्रिय हुन चहान्थिन् । उनको आशा संसदको सदस्य भएर राजनीतिमा बलियो पकड बनाउने भएकैले राप्रपामा छिरेकी थिइन् । राप्रपा विभाजनपछि उनी कमल थापाको राप्रपामा केही समय बसिन् र पछि एमालेमा प्रवेश गरेकी थिइन् ।
भुवन केसी
नेपाली फिल्म क्षेत्रका अभिनेता भुवन केसी दोस्रो संविधानसभाको निर्वाचनका बेला टिकट पाउने हल्लासँगै कांग्रेसमा प्रवेश गरेको प्रचार भएको थियो । तर, उनले पत्रकार सम्मेलन गरेरै आफू नेकपा एमालेमा रहेको बताएका थिए । तर, एमालेले उनलाई न त्यसबेला पत्यायो न यसबेला प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्ष होस् वा समानुपातिक सूचीमा राखेको छ ।
विस्तारै राजनीतिभन्दा केही पर हुन थालेका केसीले एकताका सांसदको ठूलै सपना बुनेका थिए । तर, अहिले फिल्ममा अभ्यस्त छन् । उनी आफ्ना छोरा अनमोल केसी अभिनित फिल्म ‘कृ’को अन्तिम छायाङ्कनमा व्यस्त छन् । अहिले राजनीति दलको आबद्धताभन्दा निर्माण र निर्देशनमा उनी व्यस्त छन् । यसबीचमा ड्रिम्स फिल्मको सफलतापूर्वक निर्माण र निर्देशन गरेका केसी ‘कृ’का निर्माता मध्येका एकजना हुन् ।
करिश्मा मानन्धर
करिश्मा मानन्धरको सक्रियता फिल्ममा भन्दा राजनीतिमा बढि देखिन्छ । उनी डा. बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति नेपालकी एकजना प्रमूख नेता पनि हुन् । उनी चुनावी अभियानदेखि पार्टीका कार्यक्रममा व्यस्त छिन् । उनको राजनीतिक सक्रियताले फिल्मी सक्रियतामा केही कमी गराएको छ ।
मानन्धरको नाम नयाँ शक्ति नेपालले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ । तर, संविधानतः कायम भएको तीन प्रतिशत थ्रेसहोल्डका कारणले नयाँ शक्तिले समानुपातिकमा सांसद बनाउने मौका कम रहेको विश्लेषण गरिएको छ । यसकारणले पनि राजनीतिमा सक्रिय रहँदा रहँदै पनि संसद छिर्ने करिश्माको सपना पुरा नहुने सम्भावना बढि रहेको छ ।
रेखा थापा
रेखा थापा संविधानसभामै सदस्य हुन चहान्थिन् । त्यसका लागि दोस्रो संविधानसभाको निर्वाचनमा टिकट पाउने आशाले माओवादीमा छिरिन् । तर, मतदाता नामावलीमा नामै नभएको भन्ने हल्ला आयो । उनी माओवादीमा रहन सकिनन् । त्यसपछि राप्रपा एकीकरणपछि कमल थापासँग कुम जोड्न पुगिन् । कुनै लाभको पद पाउनसक्ने अवस्था नआएपछि विभाजित राप्रपा प्रजातान्त्रिकमा रहेकी छिन् ।
उनी समानुपातिकमा सांसद बन्ने राजनीतिक चलखेलमा लागेपनि त्यो सम्भव हुन सकेको छैन । एक त राप्रपा प्रजातान्त्रिकले समानुपातिकमा सांसद बनाउन सक्ने अवस्था छैन भने अर्कातिर प्रत्यक्षमा थापाले टिकट पाइनन् ।
भर्खरै उनको ‘रुद्रपिया’ नामको फिल्म रिलिज भयो । उनले त्यसमा पनि खासै सफलता हात पार्न सकिनन् । बजारमा राप्रपा प्रजातान्त्रिकको सह–महामन्त्रीको पद पाएको हल्ला चलेको छ । उनी सांसद हुन नसकेपछि अहिले राजनीतिक नियुक्तिको आशमा बसीरहेकी छिन् ।
सरोज खनाल
झन्डै डेढ दशकभन्दा लामो समय अमेरिका बसेर आएका अभिनेता सरोज खनाल राजनीतिक परिवर्तनका लागि भन्दै नयाँ शक्ति नेपालमा आवद्ध भए । तर, उनको सक्रियता पार्टीमा हुन सकेन ।
उनी पछिल्लो कालमा नेपाली फिल्म उद्योगमा बढि सक्रिय र राजनीतिमा निस्क्रिय रहेका कारणले पनि सांसद बन्ने उनको ध्येयलाई पार्टीले पनि पत्याएन ।
The post कलाकारको संसद सपना : माछा-माछा भ्यागुतो ! appeared first on Sajha Post.