काठमाडौं, ४ असोज । गायन क्षेत्रमा सदाबहार जम्न सकेका राजेश पायल राई दुई दशककै एक लोकप्रिय गायक हुन् । उनका सहयात्री कति गुमनाम छन्, कति बदनाम छन् तर उनी सँधै सर्वनाम भएर गीतमा बजीरहन्छन्– राई इज किङ् बनेर । विदेशका धेरै स्टेज तताउने उनका लागि साधारण प्रश्न बनिरहन्छ– विवाह कहिले गर्ने ? र, यो प्रश्नको उत्तर न्युज गसिपमा आइरहेको हुन्छ ।
कहिले अभिनेत्री केकी अधिकारीको नाममा, अहिले रेखा थापाको नाममा । राजेशका सामाजिक सञ्जालका पेजहरूबाट तानेर राखिने त्यस्ता तस्बिरसँग उनको सम्बन्ध जम्मा मित्रताको हुन्छ । त्यसभन्दा माथि न तल कुनै सम्बन्धको आकारचाहीँ खोपिएको हुँदैन । उनको यहि सम्बन्धलाई सवैले माया गरेका कारणले ‘गसिप’ बजारमा हल्का ठानिदिन्छन्, सम्बन्धित पात्रले । ‘आइ लभ यु’ मित्रताका लागि पनि चलनचल्तीकै भाषा बनिसकेको छ रङ्गमञ्चमा । यसकारण राजेशले कुनै अभिनेत्रीलाई आइ लभ यु लेख्नासाथ त्यो प्रेमचाहीँ हुँदैन । उनले प्रत्युत्तरमा पाएका आइ लभ यु पनि प्रेमको आकारभित्र पर्दैन । त्यसैले उनलाई गसिप किङ पनि भनिन्छ ।
एकताका केकी अधिकारीसँग विदेशका धेरै स्टेज सेयर गरेका राजेशले उनीसँग विवाह गर्ने हल्ला बजारीकरण भयो । सोही हल्लाका बीच केकीले राजेको जन्मदिनमा केक खुवाएको तस्बिर पनि भाइरल भयो । केकी अधिकारीसँग बहराइनमा खिचेको तस्बिर सार्वजनिक गरेका राजेशबारे धेरै अनलाइनले अनुमानित समाचार लेखे– केकीसँग विवाह गर्दै राई इज किङ ! मिडियाले लेखेका कुरामा हँमा हँ मिलाए, उनले । त्यसपछि सामाजिक सञ्जालमा उक्त समाचार सेयर गरिदिए । यो हल्लाको बजारले केकीलाई पछ्याउन छाडेन र उनले उत्तर दिनुप¥यो– राजेशसँग मेरो विवाह हुँदैन । उनी अरू सेलिब्रिटीजस्तो झट्ट प्रतिक्रिया दिने र रिसाउने काम गर्दैनन् । त्यसैले पनि मिडियाले उनलाई सँधै काखैमा राखेको छ । उनको प्रतिक्रिया नै सकारात्मक हुने र गसिप बजार बुझेका कारण उनलाई ‘गसिप किङ’ पनि भनिन्छ ।
खोटाङको साविकको लेक्पा गाविसको वुइपामा जन्मिएका राजेशको सफलता गायनले दियो र अहिलेसम्म चर्चाको चुलीमा छन् । कोसी तरेर ०४७ मा काठमाडौं छिर्दा बाबु रत्न राईले लेखिदिएको एउटा चिर्कटो रेडियो नेपालमा पाण्डव सुनुवारलाई बुझाएका राजेशको गायन उचाईले उनलाई मिडियाको गसिप राजा पनि बनाइसकेको छ । उनले बोल्यो कि पोल्यो भनेजस्तो कतिपय मजाक र ठट्टाले बजार तताउँछ । ‘फैलियो माया दुवो सरी…’ भन्ने बोलको गीतले गायन दुनियाँमा जादु फैलाएका उही राजेशको प्रेम र विवाहको हल्ला अहिले असीमित भएर फैलिएरहेको छ ।
भोजपुरी, हिन्दि, जापानीज, मैथीली, नेवार, लिम्बु राई, अंग्रेजी भाषामा गीत गाएका राजेशको प्रेम सम्बन्धको चर्चा नेपाली अभिनेत्रीसँग मात्र होइन, विभिन्न देशका युवतीसँग पनि चलेकै थियो । उनले अफ्रिकन मुलकी एकजना युवतीसँग कतारमा गाला जोडेर खिचेको तस्बिर सार्वजनिक हुनासाथ निक्कै हल्ला चलेकै थियो । त्यस्तै अभिनेत्री निशा अधिकारी, प्रियंका कार्कीसँग पनि राजेशका नाम बेलामौका जोडियो । तर, यी सवै हल्ला नै हुन् ।
The post राई इज गसिप किङ् appeared first on Sajha Post.