काठमाडौं । बलिउडकी भेट्रान अभिनेत्री रिमा लागूको गएराती निधन भएको छ । छातीको समस्या रहेकी लागूको ५९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।
छातीमा समस्या देखिएपछि उनलाई मुम्बईको कोकिला बेन धीरूभाई अंबानी अस्पतालमा उपचारका लागि लगिएको थियो । लागूका ज्वाई विनय व्यकुलले उनको निधन भएको पुष्टि गर्दै स्थानीय पत्रकार सुप्रिया सोगललाई जानकारी दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
उनी मराठी हिन्दी फिल्मकी प्रख्यात अभिनेत्री थिइन् । टेलिभिजनको दुनियाँमा पनि उनलाई लोकप्रिय अभिनेत्रीको रूपमा चिनिने गरेको थियो । मराठी रङमञ्चमा दशकभन्दा बढिदेखि सक्रिय उनी बलिउड फिल्ममा भने ममतामयी आमाको अभिनयका लागि ख्याती कमाएकी थिइन् ।
उनले ‘मैने प्याकर किया’, ‘आशिकी’, ‘साजन’, ‘हम आपके है कौन’, ‘वास्तव’, ‘हम साथ साथ है’ लगायतका दर्जनौं फिल्ममा अभिनय गरेकी थिइन् ।
उनलाई १९९० मा म्युजिकल रोमान्टिक फिल्म ‘मैने प्यार किया’ को लागि सर्वश्रेष्ठ अभिनेत्रीको फिल्मफेयर अवार्ड दिइएको थियो । १९९१मा आएको म्युजिकल सुपरहिट फिल्म ‘आशिकी’ को लागि पनि उनलाई बेस्ट सर्पोटिङ एक्ट्रेसको फिल्म फेयर अवार्ड मिलेको थियो ।
यसको अलावा ‘हम अपके है कौन’ र ‘वास्तव’को लागि उनलाई सम्मान मिलेको थियो । उनको फिल्म करियर श्याम बेनेगलको फिल्म ‘कलियुग’ बाट शुरु गरेकी थिइन् ।
The post रहिनन् भेट्रान बलिउड अभिनेत्री रीमा लागू appeared first on Sajha Post.