Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

स्कर्ट लाएर राजनीति गर्न किन नहुने ?

$
0
0

विनोद ढकाल/ काठमाडौं, १५ चैत । अभिनेत्री करिश्मा मानन्धरले तीन दशक लामो सिनेयात्राका क्रममा राजनीतिमा हाम फालिन् । समाज परिवर्तनको मुख्य जग नै राजनीति भएको उनको ठम्याई छ । ‘त्यसकारणले म राजनीतिमा लागेकी हुँ, आखिर कसै न कसैले परिवर्तन गर्नैपर्ने हुन्छ, हामी गर्छौं ।’, नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य करिश्मा भन्छिन्,‘राजनीतिको मुख्य लक्ष्य मुलुकको मुहार फेर्नु हो ।’

डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपालको पुर्वयोजनादेखि घोषणा सभामा मात्रै होइन ‘हिमाल, पहाड तराई मधेस’ अभियानमा पनि करिश्माको सक्रियता प्रभावकारी रह्यो । फिल्मी क्षेत्रको लामो अभ्यास एकातिर भएपनि, राजनीतिक अभियानमा उनको सक्रियताको प्रशंशा, उनकै प्रशंककले बढि गरे । राजनीति गर्ने मानिस सुन्दर बनेर हिँड्न हुँदैन भन्ने सोचलाई उनले परिवर्तन गरेकी छन् । उनी भन्छिन्,‘सुन्दर कसरी देखिन्छ भन्ने कुरालाई सम्झौता गरेर राजनीति गर्ने होइन, राजनीति गर्न सोच सुन्दर हुनुपर्छ ।’ तीन दशकसम्मको सिनेयात्रमा उनको सिकाई नै सुन्दर कसरी देखिने भन्ने पनि थियो । अभिनेत्रीहरू आवरणमा सुन्दर देखिने परम्परा उनी नेत्री हुँदा प्रतिस्थापित गर्न सक्तिनन् । ‘यो आदत हो, यो आदतलाई विट मारेरै राजनीति गर्नुपर्छ भन्ने म ठान्दिन ।’ नेपाली समाजमा राजनीति गर्ने महिलाका पहिरनमा पनि कयन टिप्पणी हुने गर्छन् । मैले सोधेको थिएँ,‘तपाईको राजनीति जीवनमा पहिरनको विषयमा कुरा काट्ने धेरै छन् । यसमा के भन्नुहुन्छ ?’ उनको उत्तर थियो,‘राजनीति भनेको राज्यको नीति बनाउने काम भएका कारणले यसमा पहिरन एउटा फगत बहस हुन्छ ।’

तीस वर्ष लगाइरहेको लुगा खोलेर अर्को पहिरनमा राजनीति गर्छु भन्नु मूर्खता हुने उनी ठान्छिन् । राजनीति गर्नका लागि सोच परिवर्तनको आवश्यकता छ, पहिरन परिवर्तनको नभएको उनको तर्क छ । नेपालमा राजनीति गर्ने महिलाले साडी नै लगाउनुपर्ने वा अन्य पहिरनबारे उनको फरक मत छ । उनी भन्छिन्,‘मेकअप नगरी, सौखलाई त्यागेर गर्ने राजनीति ढोङी हो, समाज परिवर्तनको विचार बोकेर हिँडेको राजनीतिज्ञका लागि कपडाबारे बहस गर्ने फुर्सद निकाल्न हुँदैन ।’ अझ करिश्मा त नेपाली फिल्म क्षेत्रको एउटा पयार्य र मेरुदण्ड पनि हुन् । उनको सुन्दरताको कायल भएका कारणले नै धेरै महिला उनीजस्तै सदाबहार सुन्दर देखिन चहान्छन् । तीन दशक लामो फिल्मीयात्रामा कसरी बनिनुपर्छ भन्ने सिकाईलाई अंगीकार गरेकी उनी पहिरनमा सम्झौता गर्न चहान्न् । त्यसैले भन्छिन्,‘हिलारी क्लिन्टन, मिसेल ओबामाहरू मिनिस्कर्ट लगाएर राजनीति गर्दा करिश्मा मानन्धरले चाहिँ किन लगाउन नहुने ?’

अहिले अभियानमा हिँड्दा पनि पहिरनमा उनले कुनै सम्झौता गरिनन् । हिसिला यमी, गंगा चौधरीलगायतले भेषभुषा र पहिरनमा समुदायमैत्री भएर उत्रिँदा पनि करिश्मा आफ्नो सौख भन्दा बाहिर आइनन् । उनको विचारको अडानले पुष्टि गर्छ की, उनी कपडामा भन्दा विचारमा बढि विश्वास गर्छिन् । उनी अभियानमा हिँडेकी छन्, परिवर्तनका लागि । तर, पहिरन फेरेर विचारलाई गुमराहमा राख्न हुँदैन भन्ने विश्वासलाई पनि सँगसँगै बोकेकी छिन् ।

करिश्मा पर्दाभित्र मात्र होइन, पर्दाबाहिर पनि उत्तिकै सुन्दर छिन् । उनको रूप जति सुन्दर छ, वचन र व्यवहार पनि सुन्दर छ । मन सुन्दर हुनुको कारणले नै उनी सुन्दर छिन्, अहिले पनि । शारीरिक सुन्दरतामा करिश्मा उत्तिकै ध्यान दिन्छिन् । करिश्माको सुन्दरतालाई अझ बलियो बनाएर राख्ने शक्ति हो– कामप्रतिको लगन र दृढता । पर्दामा आउने धेरैको उदाहरणकी पात्र हुन्, करिश्मा । अहिले पनि कतिपय अभिनेत्री उनको सुन्दरता कायम रहनुको रहस्य बुझ्न नसक्दा जिब्रो टोक्छन् । दशक बढी निरन्तर पर्दाभित्र आवश्यक एकाधिकार जमाइराखिन्, करिश्माले । १९८८ देखि नै २००२ सम्मको उनको फिल्मी करिअर बलियो थियो । १४ वर्षमा सन्तान फिल्ममा डेब्यु गरेकी करिश्माले १२ वर्षसम्म निरन्तर उद्योगमा तहल्का मच्चाइन् र दशक अघिको बाबुसाहेव फिल्मपछि फुर्सद लिने निर्णयमा पुगिन् र अमेरिका गएकी थिइन् । त्यसताका धेरैले करिश्मा पलायनवादी भनेर टिप्पणी गरे तर त्यस्ता टिप्पणीकर्तालाई अझै उनको उत्तर उही छ– म पलायन भएको होइन, फुर्सद खोज्दै अमेरिका पुगेकी थिएँ । चलनचल्तीका साधारण प्रश्नका उत्तर उनीसँग नहुने कुरै भएन । ०४२ सालमा सन्तान फिल्म खेल्दा १४ वर्षकी करिश्मालाई उद्योगमा ३० वर्ष बितिसकेको तथ्य समीक्षा गर्दा भ्रमजस्तो लाग्छ । ‘यत्रो समय बित्यो भन्दा विश्वास लाग्दैन’, उनले भनिन्, ‘अझै लामो समयसम्म उद्योगमा काम गर्ने दृढता छ तर अब म मायाज बारजस्तो होइन, केही प्रगतिशिल भएर अघि बढ्ने ध्याउन्नमा छु ।’

सरल जीवन कसरी बाँच्ने हो ? कसरी हिँड्ने हो भन्नेतिर उनको ध्यानकेन्द्रित नहुने अवस्था आएपछि उनी सरल बन्नेतिर लागिन् । त्यसका लागि केही समय नेपाल छाडेर अमेरिका यात्रा गरेकी थिइन्, उनले । ‘लामो काम र एउटा सेड्युलको जीवनदेखि आममान्छेको फरक जीवन बाँच्नका लागि म अमेरिका गएकी थिएँ । त्यहाँ पुगेपछि धेरै कुरा सिक्ने मौका पाएँ । आममान्छेको जीवनमा हाँस्ने, रमाइलो गर्ने, सीप सिक्नका लागि पनि म फुर्सद लिएर अमेरिका पुगेकी थिएँ,’ उनले थपिन्, ‘बाल्टिमोरमा मैले व्यापार पनि गरेँ । त्यसबीचमा फिल्मबाट चटक्कै हात धोइनँ, पापी मान्छे बनाएँ । तर, अमेरिका पुगेपछि ममा धेरै कुरा परिवर्तनचाहिँ पक्कै भएको थियो । अहिले पनि महसुस गर्न सक्छु ।’

फिल्म उद्योग नै स्कुल, कलेज ठान्ने करिश्मा नेपालमा हुनासाथ यही भीडमा हराउनुपर्ने बाध्यता छिचोल्न अमेरिका पुगेकी थिइन् । जब उनी नेपाल आउँथिन् फेरि फिल्मको अफर आइहाल्थ्यो । कतिबेला करिश्मा फर्किन्छे र फिल्म बनाऊँ भनेर मान्छेले पर्खिएजस्तो । ‘सबै यही उद्योग भयो । मैले धेरै कुरा यहाँबाट सिक्ने मौका पाएँ । अझै पनि सिकिरहेकी छु । तर, अब यसबाहेक मैले अन्यत्र पनि काम गर्नुपर्छ भन्ने सोच राखेकी छु’, उनले भनिन् । करिश्मालाई आइडल मान्ने कम छैनन् । करिश्माका फ्यान थोरै छैनन् । तर, उनलाई कहिले पनि आफू सेलिब्रिटी भएँ भन्ने भान भएन । त्यो घमण्ड मनमा पलाएन । त्यसको फाइदा लिने आकांक्षा पनि पलाएन । भनिन्, ‘कहिले पनि म सेलिब्रिटी हुँ, म भयानक मान्छे हुँ भन्ने आशक्ति राखिनँ । राख्न पनि नपरोस् । म आममान्छे नै हुँ भन्ने सोच अहिले पनि छ । त्यसकारण करिश्मा मानन्धरले फिल्म उद्योग छाड्दा पनि व्यक्तिगत रूपमा अन्य काम गरेर बाँच्न सक्ने सीप सिकेकी छ ।’

करिश्मासँग धेरै गुण छन् । उनी अध्यात्मदेखि समाजसेवाका विविध पाटामा सक्रिय छिन् । उनले एउटा मान्छेभित्र अनेक मान्छे खोज्ने प्रयास गरिन् । भनिन्, ‘एउटा मान्छेभित्र हजारौं मान्छे पाउन सकिन्छ । मैले त्यसलाई खोज्ने प्रयास गरेँ । अहिले ममा फरक मान्छेहरूले गर्न सक्ने कामको सीप छ ।’ करिश्मा कुशल अभिनेत्री, सदावहार सुन्दरी हुन् भन्नेमा कसैले शंका गर्दैन । तर, करिश्माभित्र पनि अनेक करिश्मा समाहित भइसकेका छन् । उनी अभिनेत्री मात्र होइन, उनीसँग अनेक क्षमता पनि छ । ‘म अभिनेत्री करिश्मा मानन्धर मात्र होइन, डिजाइनर, टाटु डिजाइनर, बार ट्रेन्डर, व्यापारी पनि हुँ ।’ उनको आत्मबल, आत्मविश्वास यति धेरै छ कि उनले उदाहरण दिइन्, ‘म विश्वमा कहीँ पनि काम नपाएर भोकै मर्दिनँ, मैले आफूलाई बचाउन सक्ने सीप सिकेकी छु । म अहिले पनि अफ्रिकाको जंगलमा लगेर छाड्दिनुस् तपाईं, त्यहाँ पनि बाँच्न सक्छु ।’

लगनशीलता र अनुभव ठूलो शिक्षालय हो । यही शिक्षाको आधारशिलामा उभिएकी करिश्माका हरेक प्रस्तुति शालिन्, समझदारीसाथ देखिन्छन् । उनी कसले के टिप्पणी गर्छ भन्नेमा ध्यान दिन्नन् । उनले भनिन्, ‘मेरा बारेमा हुने अनेक टिप्पणीलाई ध्यान दिन्नँ । कसैले राम्रो सोचेर भनेका हुन्छन्, कसैले आफ्नो धारणाका लागि ‘धारणा’ व्यक्त गरेका होलान् । तर, मैले के गर्नुपर्छ भन्नेमा मात्र केन्द्रित हुन्छु ।’ ललितपुरको गोदावरीमा बस्ने करिश्माको जन्म पनि ललितपुरमै भएको थियो । उनी बानेश्वरमा हुर्किन् । ‘करिश्मा केसीका नाममा मैले काठमाडौंबाट नागरिकता लिएकी थिएँ । पछि विनोद मानन्धरसँग विवाह भयो । राजविराजमा थियो घर । मैले सप्तरीबाट मानन्धर थरको नागरिकता पनि लिएँ ।’ फिल्म निर्माण, सामाजिक सेवा, राजनीति, विभिन्न ¥याम्प, कार्यक्रममा व्यस्त दैनिकी परिवारको सहजीकरणले भएको बताउने करिश्मा थप्छिन्, ‘मेरो सबैभन्दा ठूलो शक्ति परिवार हो । विनोदको सहयोग, छोरी कविताको राम्रो लगनशील पढाइ अनि मलाई माया गर्ने सबैको सहयोगविना कसरी काम गर्न सक्छु ? फिल्म, राजनीति, मेरो करिश्मा मानन्धर फाउन्डेसन सबैलाई समय मिलाउन हरेकको मद्दत छ । म भाग्यमानी ठान्छु ।’

नयाँ शक्ति अभियानको पहिलो ३५ सदस्यीय केन्द्रीय परिषद्मा करिश्माको नाम आएपछि धेरैले आँकलन गरे, ‘डा. बाबुराम भट्टराईले अभियान चलाउन करिश्मा राखेका हुन् ।’ उनलाई राजनीतिको ज्ञान छैन भन्ने भ्रम उनले चिरिदिइन् । एउटा कलाकारले हर विषयको ज्ञान राख्नुपर्छ भन्ने प्रमाण हुन्, करिश्मा । उनले भनिन्, ‘राजनीति गर्नेहरूले पनि सबै कुरा बुझ्नुपर्छ । राजनीति जान्नेहरूले पनि गर्नुपर्छ । अमेरिका, भारतदेखि दुनियाँका धेरै देशमा अभिनेत्रीले राजनीति गरेका छन् ।’
करिश्माको राजनीति यात्रा यो मुलुकमा रहेको वेथिति न्युनिकरण र सबल नेपाल निर्माणको अभियान हो । ‘दुनियाँ देख्दा धेरै कुरा सिकेकी छु, यो समाज परिवर्तन गर्ने दायित्व हाम्रै रहेका कारणले म नयाँ शक्ति अभियानमा जुटेकी हुँ’, उनले भनिन्,‘मुलुकलाई समृद्ध बनाउने आधार नयाँ शक्तिमा रहेका कारणले नै म सक्रिय भएकी हुँ ।’

तस्बिरहरू: कविन्द्रमान शाक्य

The post स्कर्ट लाएर राजनीति गर्न किन नहुने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles