काठमाडौं । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चिसो मान्छे’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । ‘पशुपति प्रसाद’ र ‘आमा’ जस्ता सुपरहिट फिल्म बनाएका दीपेन्द्र कुमार खनालले निर्देशन गरेको फिल्मको ट्रेलरलाई सार्वजनिक भएको १२ घण्टामा युट्युवमा मात्रै २ लाख बढीले हेरेका छन् । दर्शकले अर्गानिक कथाको नेपाली फिल्म भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै फिल्मकर्मी, संंचारकर्मी लगायतले सामाजिक सञ्जालमा ट्रेलरको चर्चा गरेका छन् । खासगरि नायिका स्वस्तिमा खड्काको लुक्स र अभिनयको सबैले तारिफ गरेका छन् ।
कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन । विदेशबाट आएको शवलाई गाउँ पु¥याउने यात्रा फिल्ममा देखाइने छ । कार्यक्रममा अभिनेत्री खडकाले विभिन्न किसिमका महिलाहरुको परिचय दिने बताइन । त्यस्तै अभिनेता विपिन कार्कीले निर्देशकले नयाँ आयाममा फिल्म बनाएको भन्दै निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे।
फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खडकाले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन ।