एजेन्सी, ३ आषाढ । बलिउडमा छुट्टै पहिचान बनाउन सफल भारतीय अभिनेत्री विद्या बालनले कैयौं हिट फिल्ममा अभिनय गरिसकेकी छन् । हिन्दी फिल्ममा नारीवादी भूमिमालाई नयाँ आयाम दिने कलाकारमा उनी पनि पर्छिन् । उनको भूमिकाले बलिउडमा नयाँ परम्परा नै कायम भएको छ ।
विद्याले सफलता चुम्न धेरै खुट्किला पार गरेकी छन् । हालैको एक अन्तर्वार्तामा उनले आफ्नो पहिलो तलबबारे मुख खोलेकी छन् । ‘मैले एउटा राज्यको पर्यटन अभियानका लागि पहिलो पटक ५ सय तलब बुझेकी थिएँ’, पहिलो फोटो शुटबारे स्मरण गर्दै विद्याले भनिन् ।
त्यस्तै अन्तर्वार्ताका क्रममा सो फोटो शुटमा ‘के गर्नु भएको थियो’ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै विद्याले एउटा रुखमा उभिएको मात्रै बताइन् । ‘हामी चारजना (मेरी दिदी, अंकलकी छोरी र एक जना साथी) सँगै गयौं र प्रत्येकले ५-५ सय पाएका थियौं । सबैले रुखको छेउमा बसेर यताउता शरीर ढल्काउँदै हास्नु मात्रै पर्थ्यो ।’
विद्याले आफ्नो पहिलो अडिशनबारे समेत बताएकी छन् । पहिलो पटक टेलिभिजन शोका लागि अडिशन दिएको र उक्त अशिडनमा १५० जना सहभागी भएको उनले सुनाइन् ।
‘मैले एक टेलिभिजन शोका लागि पहिलो अडिशन दिएकी थिएँ र जुन मेरो पहिलो टेलिभिजन थियो’, विद्याले भनिन्, ‘दिदी र आमासँग फिल्म सिटीमा गएको र हामीले दिनभर कुर्न परेको कुरा अझै पनि सम्झन्छु । त्यहाँ झण्डै १५० जनाको परीक्षण हुँदै थियो ।’ अडिशनको अन्त्यमा आफूलाई बोलाइएको पनि उनले सुनाइन् ।
The post विद्या बालनले पहिलो फोटो शुट र तलबबारे मुख खोलिन् appeared first on Sajha Post.