एजेन्सी, २३ जेष्ठ । भारतका चर्चित अभिनेता दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको छ । कुमारलाई आइतबार बिहान मुम्बईस्थित एक अस्पताल भर्ना गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
हाल मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका कुमारको वरिष्ठ चिकित्सकको एक समूहले उपचार गरिरहेका छन् । उनलाई अस्पताल भर्ना गर्नुको कारणबारे केही खुलाइएको छैन । ९८ वर्षीय कुमारलाई गत महिना समेत नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो ।
कुमार बलिउडका एक महान कलाकार हुन् । बलिउडको ‘पहिलो खान’ भनेर समेत सम्बोधन गरिने कुमार १९४० को दशकदेखि चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले चलचित्र क्षेत्रमा प्रवेश गरेपछि आफ्नो नाम परिवर्तन गरी दिलिप कुमार राखेका हुन् ।
कुमारलाई पद्म विभूषण, दादा साहेब फाल्के अवार्डसहित कैयौं पुरस्कारबाट सम्मान गरिएको छ । उनले गिनिज बुकमा सबैभन्दा धेरै अवार्ड पाउने भारतीय कलाकारको कीर्तिमान समेत राखेका छन् ।
कोहिनुर, मुगल ए आजाम, शक्ति, राम ओर श्याम जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका कुमार अन्तिम पटक सन् १९९८ मा बनेको चलचिल किलामा देखिएका थिए ।
तरनाको शुटिङका क्रममा मधुबाला र कुमार प्रेम सम्बन्धमा गाँसिएको र उक्त सम्बन्ध सात वर्षसम्म चलेको थियो । तर उक्त सम्बन्ध विवाहमा परिणत हुन सकेको थिएन । १९५० को दशकमा उनी र बैजयन्थीमालाबीच सम्बन्ध रहेको चर्चा समेत चलेको थियो ।
तर कुमारले सन् १९६६ मा अभिनेत्री सैरा बानुसँग विवाह गरे । उनले सन् १८८१ मा पुन: आस्मा सहिबासँग दोस्रो विवाह गरे तर दुईवर्षपछि नै दुबै जनाले सम्बन्ध विच्छेद गरेक थिए । हाल उनी बान्द्रामा सैरा बानुसँग बस्दै आएका छन् । दुबैजनाका कुनै सन्तान छैनन् ।
The post चर्चित भारतीय अभिनेता दिलिप कुमार अस्पताल भर्ना appeared first on Sajha Post.