Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रत्न शमशेर थापाको ‘घुम्टो’मा बसन्त र सुनिताको युगल स्वर

$
0
0


नर्थ क्यारोलाइना, १५ वैशाख । कन्चन म्युजिक इन्टरटेनमेन्टले जुन २६ मा ‘घुम्टो’ बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ ।

वरिष्ठ गीतकार रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत रहेको उक्त गीतमा बसन्त खड्का र सुनिता दुलालको युगल स्वर रहेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् । गीतको रेकर्डिङ् तथा सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) पनि संगीत संयोजक दीप तुलाधरले नै गरेका छन् ।

गायनमा तीन दशक लामो अनुभव बनाइसकेका गायक बसन्त खड्काले यसअघि पनि रत्न शमशेर थापाका रचनामा केही गीत गजलहरूमा स्वर दिईसकेका छन् । ‘छाल झैँ कपाल’, ‘नजिकको भेट भन्दा’, ‘चन्द्रले के दियो’, ‘एक्कासी चट्याङ्ग खसी’ लगायतका गीत गजलहरू रत्न शमशेर थापा र बसन्त खड्काका सहकार्यका पुराना चर्चित गीत गजल हुन् ।

निकै लामो अन्तरल पछि पुन बसन्त र रत्न शमशेर थापाको सहकार्यमा यो घुम्टो स्रोता माझ आएको छ । हाल अमेरिकाको नर्थ क्यारोलाइना निवासी गायक बसन्त खड्काका अनुसार यो गीतको रचना रत्न शमशेर थापाले बि. सं. २०१८ तिर गरेका हुन् । खड्काले यसको संगीत पनि आफुले करिव २२ बर्ष अघि नै गरेको तर यसलाई पूरा गर्ने अवसर बल्ल अहिले मिलेको र अब यो गीत आफ्नो कन्चन एल्बममा समेटिने जानकारी दिए ।

लोक गायनमा आफ्नो वजनदार परिचय बनाइसकेकी गयिका सुनिता दुलालले घुम्टो को युगल गायनमा आफूलाई साथ दिएर सुगम संगीतमा प्रवेश गरेकोमा बसन्त खड्का खुसी प्रकट गर्दै आफूहरूको प्रस्तुतिलाई स्रोताहरुले मन पराइदिनेमा आफु विश्वास व्यक्त गर्छन् ।

यसअघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले ‘मृगतृष्णा’ नामक एल्वम स्रोतासामु ल्याएका छन् भने ‘गोधुली’, ‘लालिमा’, ‘छहरा’, ‘बेस्ट अफ बसन्त खड्का १ र २ लगायतका गीति एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् । कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसँग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् ।

कञ्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र संगीतमा ‘राजमार्ग’ र डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै संगीतमा ‘सँगैसँगै’ सार्वजनिक गरिसकेका छन् ।

कोरोनाको महामारीले विश्व नै बन्दाबन्दीमा रहेको बखत सार्वजनिक गरिएको प्रेमिल भावको यो युगल गीतले अफ्ठ्यारो समयमा स्रोताहरूलाई पीडा भुल्न मद्दत गर्नेमा गायक बसन्त खड्का आशावादी छन् । कञ्चन म्युजिक इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गर्दै गायक खड्काले स्वास्थ्य उपचारपछि घरमै आराम गरिरहेका वरिष्ठ गीतकार रत्न शमशेर थापाको सुस्वास्थ्य र दीर्घ जीवनको कामना समेत गरेका छन् ।

The post रत्न शमशेर थापाको ‘घुम्टो’मा बसन्त र सुनिताको युगल स्वर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles