एजेन्सी, २ फाल्गुन । कुनै बेला बलिउडमा निकै चर्चा र लोकप्रियता पाएकी नायिकामा मधुबाला पनि पर्छिन् । मधुबालाको खास नाम मुमताज जेहान बेगम देहलाभी हो । तर उनलाई स्टेज नाम मधुबालाबाट नै धेरैले चिन्ने गर्छन् ।
सन् १९४२ देखि १९६४ सम्म मधुबालाले हिन्दी फिल्ममा तहल्का नै मच्चाएकी थिइन् । लोभलाग्दो सुन्दरता र व्यक्तित्वकी धनी मधुबालालाई बलिउडकी मरिलिन मुनरो पनि भनिन्छ । आफ्नो क्यारियर भर दुःखान्त भोगेका महिलाको भूमिका निभाएकी उनलाई ‘दुःखान्त सुन्दरी’ र ‘भारतीय सिनेमाकी सुन्दरी’ पनि भन्ने गरिन्छ ।
मधुबाला आजैको दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मा जन्मेकी थिइन् । सन् १९३३ फेब्रुअरी १४ गते दिल्लीमा उनको जन्म भएको थियो । नौ वर्षकै उमेरदेखि फिल्म क्षेत्रमा प्रवेश गरेकी मधुबालाले ७३ भन्दा बढी फिल्ममा अभिनय गरिन् । उनले अभिनय गरेको मुगल ए अजाम (१९६०) निकै हिट भएको थियो । उक्त फिल्मका नायक दिलिप कुमार थिए ।
रंगमञ्चमा निकै सफलता पाएकी मधुबालाको निजी जीवन भने निकै कष्टपूर्ण रहन गयो । मुटुसम्बन्धी रोगका कारण ३६ वर्षमै संसार छाडेकी उनको प्रेम जीवन पनि सुखद रहन सकेन । प्रेम दिवसकै दिनमा जन्मिएकी मधुबालाको प्रेम कहानी भने अधुरो रह्यो ।
बाल्यकालमा मधुबालाका लतिफ नामका मिल्ने साथी थिए । मधुबालाले मुम्बई आउने बेलामा प्रेमको प्रतिक स्वरुप लतिफलाई रातो गुलाफ दिएकी थिइन् ।
मधुबाला मुम्बई गएपछि लतिफ निकै दुःखी बनेका थिए । पछि आईएएस अफिसर बनेका उनले लामो समयसम्म मधुबालाले दिएको गुलाफ आफूसँगै राखे । पछि लतिफले उक्त गुलाफ मधुबालाको समाधि स्थलमाथि राखिदिएका थिए । हाल अवकाश जीवन बिताइरहेका लतिफले हरेक वर्षको फेब्रुअरी २३ मा मधुबालाको समाधि स्थलमाथि एउटा रातो गुलाफ चढाउँछन् ।
मधुबालाले आफ्नो जीवनमा बलिउडका कैयौं कलाकारसँग सम्बन्ध गाँसेकी थिइन् । तर दिलिप कुमारसँगको सम्बन्ध विशेष थियो ।
दिलिप कुमार र मधुबालाको प्रेम सम्बन्धले त्यतिबेला निकै चर्चा पाएको थियो । तर सफल हुन भने सकेन । सन् १९५१ मा रिलिज भएको फिल्म ‘तराना’मा काम गर्ने क्रममा दुबै जना प्रेम सम्बन्धमा जोडिएका थिए । पहिलो भेटमा नै दुबैजनाले एकअर्कालाई मन पराएका थीए ।
तर मधुबालाका बाबुलाई भने दिलिप कुमारसँगको प्रेम सम्बन्ध मन परेको थिएन । बाबुले विरोध गरेपछि प्रेम सम्बन्ध निकै तनावपूर्ण बनेको थियो । फिल्मका काम गर्ने बेलामा मात्रै उनका बाबुले कुमारसँग भेट हुन दिन्थे । त्यही भएर दुबै जना बाबुको आँखा छलेर भेट हुन्थे ।
मधुबालाले दिलिप कुमारसँग विहे गरेमा पारिवारिक आम्दानीको एक मात्र स्रोत टुट्ने डरले उनका बाबु अताउल्लाह खानले उक्त सम्बन्धको विरोध गरेका थिए । किनभने मधुबालाले फिल्मबाट कमाएको पैसाबाट परिवार धानिइरहेको थियो ।
सम्बन्धमा बाबु तगारो बनेपछि यदि आफूसँग विवाह गर्ने हो भने घरसँगको सबै सम्बन्ध त्याग्नुपर्ने भनेर दिलिप कुमारले अडान दिएको पनि बताइन्छ । तर आधिकारिक रुपमा यस कुराको पुष्टि हुन भने सकेको छैन ।
त्यसपछि दुबै जनाले प्रेम सम्बन्धलाई टुटाउने निर्णय गरेका थिए । त्यस्तै बलिउड निर्देशक कमल अमरोहीसँग पनि मधुबालाको गहिरो सम्बन्ध थियो ।
कमलले निर्देशन गरेको सुपरहिट फिल्म महलमा मधुबालाले प्रमुख नायिकाको भूमिका निभाएकी थिइन् । उक्त फिल्मका काम गर्ने क्रममा दुबैजना नजिकिएका थिए ।
आफू विवाहित भएपनि कमलले मधुबालासँग विहे गर्न चाहेका थिए तर पहिली श्रीमतिसँग सम्बन्ध विच्छेद गरेपछि मात्रै विहे गर्ने भनेपछि दुबैजना टाढिएका थिए ।
पछि मधुबालाले बलिउडका अर्का अभिनेता किशोर कुमारसँग विहे गरेकी थिइन् । किशोर कुमारसँग विहे गर्दा उनको उमेर २७ वर्ष थियो । तर स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सन् १९६९ फ्रेब्रुअरीमा ३६ वर्षको उमेरमा मधुबालाले यस संसार छोडिन् ।
The post ‘भ्यालेन्टाइन्स डे’ मा जन्मिएकी मधुबालाको अधुरो प्रेम कहानी appeared first on Sajha Post.