काठमाडौं, २७ भदौ । आगामी असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘रातो टिका निधारमा’ फिल्मको शीर्ष गीत सार्वजनिक भएको छ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित उक्त नयाँ फिल्मको शीर्ष गीतमा ‘रातो टीका निधारमा टलक्क टल्कियो’ भन्दै अंकित र साम्राज्ञीको नृत्यू समेटिएको छ ।
एक दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ को सदाबहार गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि-एरेञ्ज गरिएको गीतको रिमेक भर्सनमा गायक प्रमोद खरेल र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको ओरिजिलन भर्सनमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको छ । शुक्रबार सार्वजनिक गीतको रिमेक भर्सनमा पुरानो गीतमा संगीत भरेका शम्भुजित बाँस्कोटाले नै यो गीतलाई रि-एरेञ्ज गरेका हुन् ।
गीतका सर्जक शहदेव ढुंगाना हुन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा फिचर्ड छन् । गीतले दशैं नजिकिएको भान गराउँछ ।
गायक प्रमोद र गायिका मेलिनाको स्वरले मन्त्रमुग्ध बनाएको गीतमा संगीतकार बाँस्कोटाले पुरानो गीतको मर्म मर्न दिएका छैनन् । भिडियोको प्रस्तुति औसत रहेको गीतमा कोरियोग्राफर श्रेष्ठले गीतको भावअनुसार कलाकारलाई प्रस्तुत गर्न नसकेको देखिन्छ ।
उता, अभिनेत्री साम्राज्ञीको नृत्यले भने ध्यान खिचेको भान पर्छ । पुरानो भर्सनमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएकाले पनि नयाँ कलाकारका लागि उत्कृष्ठ दिनु चुनौतीपूर्ण रहेको बताइन्छ ।
गीतको भिडियोमा अंकित र साम्राज्ञीसँगै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकारको भूमिका छ ।
वैदेशिक रोजगारीको कथा वाचन गरेको फिल्ममा अभिनेत्री साम्राज्ञीले यो फिल्ममा पहिलो पटक गाउँले भूमिका निर्वाह गर्ने प्रयास गरेकी छिन् ।
निर्देशक अशोक शर्माले छोरा अंकितलाई डेब्यू गराएको फिल्मप्रति उनको आकांक्षा धेरै नै छ । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् ।
फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । फिल्मलाई निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले निर्माण गरेका हुन् । निर्देशक शर्मा फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको बताउँछन् ।
खडेरी लागेको नेपाली फिल्मको व्यापार उकास्ने अपेक्षा गरिएको चलचित्रले पछिल्लो समय फिल्मको प्रचार-प्रसारलाई आक्रामक बनाइरहेको छ ।
The post साम्राज्ञी र अंकितको प्रेम छचल्कियो ‘रातो टिका निधारमा’ appeared first on Sajha Post.