काठमाडौं, ३१ असार । चलचित्र निर्माता छवीराज ओझाले आफूमाथि लागेको घरेलु हिंसाको आरोप झुट रहेको दाबी गरेका छन् ।
केही समयअघि नायिका शिल्पा पोख्रेलले श्रीमान छविराज ओझाले आफूलाई घरेलु हिंसा गरेको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीलाई दुवै पक्षलाई बोलाएर प्रहरीले सहमतिमा टुंग्याएको थियो । सहमति गर्ने क्रममा छवीले आफ्नो गल्तीका लागि शिल्पासँग माफी समेत मागेका थिए ।
तर सहमति भएता पनि शिल्पा र छवी छुट्टाछुट्टै बसेका छन् ।
यता निर्माता तथा शिल्पाका श्रीमान छवीले सामाजिक सञ्जाल मार्फत पुन : आफू निर्दोष रहेको बताएका छन् । उनले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गरेका हुन् । आफूले ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको अबदेखि सहज रुपमा जीवन बिताउने उद्देश्यले शिल्पासँग विवाह गरेको कुरा फेसबुकमा लेखेका छन् ।
‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईंले लगाएका कति आरोपहरु सत्य छन् ? यदि तपाईं पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु’, छविले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन् ।
त्यस्तै उनले शिल्पालाई अरुको कुरा नसुन्न समेत आग्रह गरेका छन् ।
छविले आफ्नो स्टेटसमा लेख्छन्- ‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।’
The post शिल्पा फकाउँदै छवि, भन्छन्-कमजोरी सच्याएर अबदेखि गान्धीवादी बन्छु appeared first on Sajha Post.