एजेन्सी, २१ भाद्र । पुराना गीतहरुलाई तोडमोड गरेर रिमिक्स बनाउने परम्पराले धेरै देशको संगित उद्योगलाई गाँजेको छ । यसलाई लिएर समय समयमा पुराना पीडिका स्वरस्रष्टाहरुले विरोध पनि गर्दै आएको समाचारहरु बाहिर आउने गरेका छन् । एकपटक फेरी यस्तै विवाद बाहिर आएको छ ।
पाकिस्तानी गायक आतिफ अस्लमद्वारा रिमेक गरिएको गीत ‘चल्ते चल्ते’ लाई लिएर बलिउडकी प्रसिद्ध सदाबाहर गायिका लता मंगेशकर रुष्ट बनेकी छिन् ।
गायिका लता मंगेशकरले सधै पुरानो गीतहरुको रिमेक परम्पराको विरोध गर्दै आएकी छिन् । यसपटक लताको रिस पाकिस्तानी गायक आतिफमाथि वर्षेको छ ।
जैकी भगनानी र कृतिका कामरा अभिनित चलचित्र ‘मित्रो’ मा मीना कुमारीको फिल्म ‘पाकिजा’ को गीत चल्ते चल्तेलाई रिमेक गरेर पेश गरिँदैछ । पाकीजा फिल्ममा त्यस गीतमा आवाज भारतीय कोइली लता मंगेशकरकै थियो । जब उनलाई आतिफको आवाजमा त्यस गीतको रिमेकबारे उनको प्रतिक्रियाबारे सोधियो तब उनी रिसाएकी थिइन् ।
आक्रोशित हुँदै लताले आफुले त्यो गीत नसुनेको र सुन्न नचाहने बताइन् । यी दिनमा आफु पुराना गीतहरुको रिमेकलाई लिएर दुःखी हुने गरेको उनले बताइन् । ‘आजभोलि जुन गीतहरुको रिमेक हुन्छन् ती गीतहरुमा सादगी कहाँ हुन्छ, कलाकारी कहाँ हुन्छ । यी गीतहरुको कसलाई सोधेर रिमेक बनाइन्छ । ओरिजिनल गीतहरु जतिपनि बनेका थिए ती कम्पोजर र गीतकारहरुको कलाकारी हो र यसलाई बदल्ने कसैलाई अधिकार छैन ।’
यस अघि पनि रिमेक गीतमाथि लताले आफ्नो पीडा व्यक्त गर्दै आएकी छिन् । उनले केही समय अघि एउटा पत्रमा यसबारे लेखेकी थिइन् । त्यस समय उनले लेखेकी थिइन्, ‘गीतलाई फेरी रिमेक गरेर पेश गर्नु समस्याको कुरा भएन तर गीतलाई तोडमोड गरेर प्रस्तुत गर्नु गलत कुरा हो । गीतको मूल धुन परिवर्तन गर्नु, शब्दलाई आफ्नै पाराले परिवर्तन गरेर नयाँ शब्द जोड्नु । यो सबै देखेर पीडा हुन्छ । कुनै पनि गीतको मूल स्वरुपलाई पेश गर्नु राम्रो कुरा हो तर यसो गर्दा मूल गीतको सुन्दरता रहिरहोस् भनेर ख्याल राख्नुपर्छ ।’
फिल्म मित्रो १४ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
The post रिमेक गीतलाई लिएर आतिफ अस्लममाथि वर्षियो लता मंगेकसकार रिस appeared first on Sajha Post.